टोकियो, जापान ।
जापानमा कोरोनाको औषधीको नाममा अनधिकृत औषधी प्रयोग गर्नेको संख्या बढेकोमा जापान सरकारले चेतावनी जारी गरेको छ ।
यस्तोमा जनस्वास्थ्य अधिकारीहरुले त्यस्ता औाषधिहरुको प्रयोग नगर्न सचेत गराएको छ । यस्ता अनधिकृत औषधीहरुको सेवनबाट हुन सक्ने साइड इफेक्टहरुको क्षतिपूर्ति सरकारले नदिने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । शिजुओका प्रिफेक्चरमा ४० वर्ष कटेकी एक महिला त्यस्तो खालको औषधी आयात गर्नेहरुमध्ये एक हुन् ।
तिनले जापानमा प्रयोगको अनुमति नदिइएको भारतीय कम्पनीले उत्पादन गरेकी ए’न्टि प्यारासाइटिक औषधी इभरमेक्शिन सेवन गरिन् । उसले सो औषधी आफैंले खोजबिन गरेर आयात एजेन्टलाई अर्डर दिएकी थिइन् । आफूले सो औषधि संक्रमण रोक्न आफ्नै जोखिममा किनेर सेवन गरेको ती महिलाको भनाइ छ । जापानको कितासातो इन्ष्टिच्यूटले कोभिडको उपचारमा इभरमेक्शिनको प्रभावकारीता जाँच्न यसको क्लिनिकल परीक्षण गरिरहेको छ ।
यो समेत अन्य कयौं अनधिकृत औषधी कोरोना विरुद्ध आफूलाई जोगाउन जापानीहरुले अर्डर दिएको एक आयात एजेन्टको भनाइ छ । जापानी नियामकहरुले कोभिडको उपचारको लागि भनेर अनुमति दिएको रेम्देसिभिर र डेक्सा मेथासोनको प्रयोग गर्न प्रेस्क्रिप्शन चाहिने भएकोले पनि यस्तो भएको हो ।
औषधि अर्डर दिनेमध्ये धेरै जसो ग्राहकहरु कोरोनाको गम्भीर लक्षण देखिन सक्ने जोखिम उच्च भएका ५० देखि ६९ वर्षबीचका भएका ती एजेन्टले बताए । यस अघि भने जापानीहरुमा कोरोनाबाट जोगिन हाइड्रो क्लोरो क्वाइन र लोपिनाभिर अर्थात् मलेरिया र एचआईभीको उपचारका प्रयोग हुने औषधीहरु बढी चर्चित थिए ।
तर विश्व स्वास्थ्य संगठनले भने कोरोनाको उपचारमा यी औषधिहरुको प्रभावकारी छ भन्ने कुनै पनि प्रमाण भेटेन । आफ्नै विवेकमा यसरी अनधिकृत औषधीहरुको प्रयोग गर्नु अति नै जोखिमयुक्त भएको मन्त्रालयको क्षयरोग तथा संक्रामक रोग नियन्त्रण एकाईका एक अधिकारीले बताए ।