टोकियो, जापान ।
जापानले बिहिवार कोरोना भाइरस विरोधी खोप कार्यक्रम टोकियो महानगर बाहिर पनि विस्तार गरेको छ । आगामी हप्तासम्ममा देशभरका सय अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुलाई खोप लगाइनेछ ।
यसैबीच बिहिवार प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो मेडिकल सेन्टरको निरीक्षण गरेका छन् । यो अघिल्लो दिन फाइजरको खोपबाट खोप अभियान शुरु गर्ने पहिलो संस्था हो । स्वास्थ्यकर्मीहरुले खोपमा निकै धेरै आशा राखेको आफूले पाएको सुगाले बताए ।
सम्भव भएसम्म छिटै देशभर सबैका लागि खोप उपलब्ध गराउने आफ्नो अपेक्षा गरेको सुगाले बताए । इबाराकी, नागानो र ओकायामामा रहेका अस्पतालहरुले बिहिवार खोप लगाउन शुरु गरेका छन् ।
शुरुआती चरणमा ४० हजार स्वास्थ्य कर्मीलाई खोप लगाइनेछ । त्यसपछि मार्चदेखि भने देशभर रहेका ३७ लाख फ्रन्ट–लाइन स्वास्थ्यकर्मीलाई खोप दिइनेछ ।
बुधवार टोकियो महानगरका ८ अस्पतालमा १२५ जनालाई खोप लगाउँदा कसैमा पनि गम्भीर साइड इफेक्ट देखिएन । हरेक दिन ६० जनालाई खोप लगाउने र मार्चको अन्त्यसम्ममा ८०० जनाको खोप पूरा गर्ने योजना रहेको टोकियो मेडिकल सेन्टरले बताएको छ ।