टोकियो, जापान ।
जापान सरकारले आधिकारिक रूपमा अमेरिकी औषधि कम्पनी फाइजरले विकसित गरेको कोरोना भाइरस खोपलाई अनुमोदन गरेको छ । जापानमा कोरोना भाइरस विरुद्ध प्रयोग गर्न स्विकृत यो पहिलो खोप बनेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आइतवार भनेको छ कि खोपको प्रभावकारिता र सुरक्षाका सम्बन्धमा गरिएको निष्कर्षको आधारमा विज्ञहरूको एक प्यानलले शुक्रवार निर्णय गरेपछि सरकारले आधिकारिक रुपमा शनिवार खोपलाई स्विकृती दिएको हो ।
फाइजरले डिसेम्बरमा भ्याक्सिनको स्वीकृतिका लागि जापानको स्वास्थ्य मन्त्रालयमा आवेदन दिएको थियो ।
यो खोप १६ बर्ष वा सो भन्दा बढी उमेरकालाई दिइने जापान सरकारले बताएको छ । खोप प्रत्येक व्यक्तिलाई तीन साताको फरकमा दुई पटक लगाईनेछ ।
खोप बुधवारबाट सुरु गरिने आशा गरिएको छ । खोप सुरुवातमा स्वास्थ्य कर्मीहरुलाई लगाईनेछ । त्यस प्रश्चात ६५ बर्ष वा सो भन्दा बढी उमेरका बृद्ध व्यक्तिहरुलाई लगाउने सरकारी मापदण्ड रहेको छ ।
सरकारसँगको सम्झौता अन्तर्गत फाईजरले जापानलाई वर्षको अन्त्यसम्म ७ करोड २० लाख व्यक्तिको लागि पर्याप्त खोप उपलब्ध गराउनेछ ।
बेलायतको अर्को औषधि कम्पनी अस्ट्राजेनेकाले पनि जापानमा यसको कोरोना भाइरस खोप प्रयोग गर्न फेब्रुअरी ५ मा आवेदन दिएको छ । अमेरिकी कम्पनी मोडर्नाले जापानमा यसको खोपको साथ क्लिनिकल परीक्षण पनि गरिरहेको जनाएको छ ।
जापानमा आम नागरिकको लागि अप्रिल महिनाबाट खोप लगाउन सुरुवात गर्ने लक्ष्य जापान सरकारले राखेको छ । जापानी नागरिक सरह नै जापानमा रहेका बिदेशी नागरिकहरुलाई पनि निःशुल्क खोप उपलब्ध गराउने जापान सरकारले घोषणा गरेको छ ।