टोकियो, जापान ।
जापानले यस अघि योजना बनाइएको जसरी धेरै मानिसलाई अमेरिकी फर्मा कम्पनी फाइजरको कोभिड–१९ विरोधी खोप नलगाइने देखिएको छ ।
सो खोप लगाउन चाहिने विशेष खालको सिरिन्ज अभावका कारण खोप कार्यक्रमा अपेक्षित संख्यामा मानिसहरु नसमेटिन देखिएको स्वास्थ्यमन्त्री नोरिहिसा तामुराले मंगलबार बताए ।
गत महीना जापानले ७ करोड २० लाख जनाका लागि पर्याप्त हुने खोपको डोज प्राप्त गरेको थियो । खोपको हरेक एक भायलमा ६ डोज निस्कने अपेक्षा गरिएको थियो । तर सिरिञ्जको प्रयोगपछि त्यसमा बाँकी रहने खोपको मात्रा न्यूनीकरण गर्ने लो डेड स्पेश सिरिन्जको अभावका कारण एक भाइलबाट खोपको ५ डोज मात्रै निस्कने भएको छ ।
कम्पनीबाट प्राप्त खोपहरु अब ६ करोड मानिसलाई मात्रै पर्याप्त हुनेछ । ‘जापानमा प्रयोग भइरहेको सिरिञ्जले पाँच डोज मात्रै तान्न सक्छ । हामीहरु ६ डोज निकाल्न सक्ने सबै सिरिञ्जको प्रयोग गर्नेछौं । तर पक्कै पनि यो पर्याप्त हुने छैन,’ तामुराले भने ।
सरकारले मेडिकल उपकरण निर्माताहरुलाई विशेष सिरिञ्जको उतपादन बढाउन आग्रह गरिरहेको छ । अमेरिका र यूरोपेली संघ (ईयू)लाई पनि फाइजरको खोपका लागि पर्याप्त मात्रामा लो डेड स्पेश सिरिन्ज जुटाउन सकस भइरहेको गत महीना अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको थियो ।
सरकारले ७ करोड २० लाख जनाका लागि खोप सुरक्षित गर्ने बेलामा नै एक भाइलबाट खोपको पाँच डोज मात्रै निस्कन्छ भन्ने अनुमान गर्नु पर्थ्यो भनेर सत्तारुढ दलका कनिष्ठ साझोदार कोमेइतोका एक सदस्य योशिनोरी ओगुचीले बताए ।
जापानले फाइजरसँग अर्डर दिएको भाइलको संख्या परिवर्तन गरेको छैन । त्यसैले यसले खोपको जोड संसोधन गर्ने सरकारी स्रोतहरुको भनाइ छ । कम्पनीले जापानलाई थप कति डोज आपूर्ति गर्न सक्छ भन्नेबारे छलफल गर्दैछ । फाइजरको खोपलाई फेब्रुअरी १५ मा प्रयोगको अनुमति दिने अपेक्षा गरिएको छ ।