टोकियो, जापान ।
टोकियो र ओसाका लगायत ७ वटा क्षेत्रका बासिन्दाहरू लक्षित एउटा सर्वेक्षणले के कुरा पत्ता लगाएको छ भने कोरोना भाइरस महामारीको बीचमा आधा भन्दा बढी जापानीहरु आफ्नो जीवनमा गम्भीर तनावको सामना गरिरहेका छन ।
किनकि कोही व्यक्ति घरमै बस्दै आएका छन् भने कोही घरमै सीमित हुँदा थकित र मानसिक रुपमा प्रताडित हुन थालेका छन् ।
जापानमा कोरोना भाइरस संक्रमण रोक्नको लागि दोस्रो पटक आपतकाल विस्तार भईसकेपछि जनतालाई संक्रमण विरोधी उपायहरू अझ सुदृढ पार्न, गैरकानुनी र अनावश्यक बाह्य क्रियाकलापबाट टाढा रहन आग्रह गरिएको छ ।
तोकुशिमा विश्वविद्यालयको क्लिनिकल मनोविज्ञानका सहयोगी प्राध्यापक तेत्सुया यामामोतो नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले गत वर्ष मेमा जापानको आपतकालिन अवस्थाको घोषणापछिको महिनामा व्यक्तिहरूमाथि कोरोना भाइरस र मनोवैज्ञानिक बोझ सम्बन्धी एक अनलाइन सर्वेक्षण गरेको थियो ।
उत्तरदाताहरु मध्ये करीव १० प्रतिशतले तनाव बढ्दा मानसिक स्वास्थ्यको कारण मेडिकल संस्थाहरुसंग परामर्श लिनुपर्ने अवस्था आइसकेको देखाएको छ । करीव ४० प्रतिशतलाई तनाव भएको देखा परेको छ, जुन गम्भीर हुने जोखिममा रहेको छ । अर्थात् तनाव मानसिक समस्यामा परिणत हुने देखिएको थियो ।
सर्वेक्षणले ११ हजार ३ सय ३३ जना व्यक्तिलाई समेटेको थियो । जसमा १८ देखी ८० बर्ष उमेरका महिला तथा पुरुषहरुलाई समेटिएको थियो । सर्वेक्षणमा टोकियो, ओसाका र अन्य पाँचवटा प्रान्तहरू जहाँ कोरोना संक्रमण उच्च पाईएको थियो ति स्थानलाई छनौट गरिएको थियो ।
डिप्रेसन, चिन्ता र अन्य मानसिक रोगका विषय समेटिएको प्रश्नहरूको निश्चित ढाँचाको अतिरिक्त सर्वेक्षणमा उत्तरदाताहरुलाई कोरोना संक्रमणले सिर्जना गरेको चिन्ताबारे खुल्ला प्रश्न राखिएको थियो ।
सर्वेक्षणको नतीजा अनुसार ११.५ प्रतिशत उत्तरदाताहरू मानसिक रुपमा कमजोर अवस्थामा पाईएका थिए । उनिहरुको लागि चिकित्सा संस्थासँग परामर्श तत्काल लिन आवश्यक देखिन्थ्यो, किनभने यो गम्भीर अवस्थाको लागि पर्याप्त भएको विज्ञहरुको विश्लेषण थियो ।
३६.६ प्रतिशतले हल्का देखि मध्यम तनाव महसुस गरेको पाइएको थियो । जुन भविष्यमा झन खराब हुने सम्भावना सर्वेक्षणले देखाएको छ । तनावको स्तर स्वास्थ्य, सेवाकर्मीहरू र किशोर किशोरी देखि ३० बर्ष उमेर समुहका युवाहरूमाझ सबैभन्दा उच्च पाईएको थियो ।
परिणामहरूको विश्लेषण गर्दा पत्ता लाग्यो कि कोरोना भाइरसबाट उत्पन्न भएको भावना र खराब काम वा अध्ययन अवरोधका कारण एक्लोपन, चिन्ता र अनिद्रा जस्ता अवस्थाहरु युवामाझ बढ्दो छ ।
यामामोतो भन्छन्-'सर्वेक्षणात्मक अनुसन्धानबाट यो प्रमाणित भएको छ कि यदि तपाई सकारात्मक चीजहरूको खोजी गर्न सक्षम हुनुहुन्छ भने तनाव कम हुन सक्छ । यदि तपाई पर्याप्त निद्रा लिनहुन्छ र वर्तमान खराब वास्तविकतालाई स्वीकार गर्दै अघि बढ्नुहुन्छ भने तनाव, दबाव र मानसिक असरलाई कम गर्नसक्नुहुन्छ ।'
सर्वेक्षणले यो पनि संकेत गरेको छ कि, धेरै मानिसहरू महामारीको कारण लामो समयसम्म तनावको चक्रमा फसेका छन् । ओसाका विश्वविद्यालयका सामाजिक मनोविज्ञान प्रोफेसर आसाको मिउराको नेतृत्वमा अनुसन्धान टोलीले जनवरी २०२० को अन्त्य र जनवरीको मध्य बीचमा सर्वसाधारणलाई लक्षित गरी जम्मा ११ सर्वेक्षण गरेको थियो । मानिसहरूलाई कोरोना संक्रमणमा उनीहरूको विचारहरू सोधिएको थियो ।
१८ देखी ७० बर्ष उमेर बिचका ६०० व्यक्तिहरूबाट प्राप्त प्रतिक्रियाहरूको विश्लेषणमा व्यक्तिहरू आफू मरिन्छ कि भन्ने डरको तीव्र सामना गरिरहेका छन् । साथसाथै महामारीबाट कुन हदसम्म जीवनमा असर वा क्षति पुग्न सक्छ भन्ने कुनै अनुमान गर्न नसक्दा आफुलाई कमजोर महसुस गरिरहेका छन् ।
मिउराले दावी गरे 'जब यस्तो उच्च तनाव र चिन्ताको बीचमा मानिस रहन्छ, कुनैपनि विषयमा राम्ररी सोच्न गाह्रो हुन्छ, जसले मानिसहरूलाई भावनामा बहाउँछ र त्यसमै हतारमा कुनैपनि निर्णय गर्नसक्छन् ।'
यद्यपि सामान्य समयमा पनि व्यक्तिहरूको सामना गर्ने बानी फरक हुन्छ, लामो समयको कोरोना भाइरस संकटले मानिसहरु धर्मराएका छन् र मानिसहरू घरभित्रै बस्न रुचाउने बानी बढ्दा मानिसहरूबीचको दूरी बढाएको छ । जसले गर्दा मानिसहरु यो समस्याबाट बाहिर आउन लामो समयसम्म लाग्न सक्नेछ ।
...
कोरोना महामारीका कारण जापानी मात्र नभई जापानमा रहेका नेपालीहरुमा पनि उस्तै समस्या सिर्जना भईरहेको छ । तपाईमा पनि कुनै मानसिक दबाव वा तनाव सिर्जना भएको हुनसक्छ । यदि त्यस्तो अवस्था छ भने कृपयाँ तपाई जापानमा रहनुभएका नेपाली मनोचिकित्सक, विज्ञहरुको सल्लाह वा जापान सरकारले उपलब्ध गराएको नेपाली भाषामा पनि कुरा गर्न सकिने निशुल्क परामर्श केन्द्रमा सम्पर्क गरेर सुझाव, सल्लाह र आवश्यक सहयोग लिनसक्नुहुन्छ ।
The TELL Lifeline is available for those who need free and anonymous counseling at 03-5774-0992. You can also visit them at telljp.com