टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयले फेब्रुवरी १५ तारिखमा कोरोना भाइरस बिरुद्धको खोपलाई स्वीकृती दिने अन्तिम तयारी गरेको छ ।
फाइजर बायोटेकद्धारा बिकसित कोरोना भाइरस खोप स्वीकृत गर्ने व्यवस्था गरिरहेको मन्त्रालयले जनाएको छ ।
यस वर्ष मन्त्रालयले ७ करोड २० लाख व्यक्तिहरूको लागि खोप उपलब्ध गराउन फाइजरसँग सम्झौता गरिसकेको छ ।
गत हप्ता फाइजरले जापानमा भ्याक्सिनको क्लिनिकल परीक्षणको बारेमा मन्त्रालयमा तथ्यांक पेश गरेको छ ।
मन्त्रालयले खोप स्वीकृति गर्ने कि नदिने भन्ने बारेमा सल्लाह लिन फेब्रुवरी १२ मा विज्ञ समितिको बैठक आव्हान गर्ने जनाएको छ ।
यदि विज्ञ समितिले हरियो बत्ती देखाएमा स्वास्थ्य मन्त्री तामुरा नोरिहिसाले फेब्रुअरी १५ मा औपचारिक स्वीकृति जारी गर्ने अपेक्षा गरिएको छ ।
अधिकारीहरु भन्छन् यो खोप, यदि अनुमोदित भएमा १६ बर्ष वा सो भन्दा बढी उमेरकालाई मात्र लगाईनेछ ।
सरकारी स्वास्थ्य अधिकारीहरुले खोपका कुनै पनि सामग्रीहरूमा गम्भीर एलर्जी हुनेगरेकालाई यो खोप लिनबाट रोक्ने योजना लागू गर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले यो खोपको लागि योग्य व्यक्तिहरूको स्थानीय सरकारलाई तुरुन्तै सूचित गर्ने छ र औपचारिक स्वीकृत भएपछि तिनीहरूले यसको प्रयोग गर्न सक्नेछन् ।
खोप स्वीकृत भएको एक साता भित्रैबाट स्वास्थ्य कर्मी सहित बृद्धबृद्धा, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी लगायतलाई पहिलो चरणमा खोप लगाउने मापदण्ड सरकारले बनाएको छ ।