(Japan) 28 th July | 2026 | Tuesday | 4:29:59 AM || (Nepal) 1:14:59 AM
 
 

फेब्रुवरी दोस्रो साता जापानमा कोरोनाको खोपले अनुमति पाउँदै

  POSTED ON : Wednesday, 03 February, 2021 | Views : 3248

फेब्रुवरी दोस्रो साता जापानमा कोरोनाको खोपले अनुमति पाउँदै


टोकियो, जापान ।

जापानले अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजर इंकको कोभिड १९ विरोधी खोपलाई फेब्रुवरी दोस्रो साता अनुमति दिने भएको छ ।

प्रधानमन्त्री सुगा योशिहिदेले आपतकालिन अवस्था एक महिना थप बारे जानकारी गराउने क्रममा यस्तो बताएका हुन् ।

यद्यपी जापानको स्वास्थ्य मन्त्रालयले प्रयोगको अनुमति दिने कि नदिने भन्नेबारे आगामी हप्ता विज्ञहरुको समितिसँग छलफल गर्ने छ ।

आगामी हप्ताको शुक्रवार बैठक बस्न तयारी अन्तिम चरणमा रहेको अधिकारीहरुले बताएका छन् । फाइजरले गत वर्ष नै जापान सरकारसँग ७ करोड २० लाख मानिसका लागि खोपको डोज आपूर्ति गर्ने सहमति गरिसकेको छ ।

गत हप्ता कम्पनीले मन्त्रालय समक्ष जापानमा गरेको खोपको क्लिनिकल परीक्षणको डेटा पेश गरेको थियो । खोपलाई प्रयोगको अनुमति दिइयो भने पनि यो १६ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुलाई मात्रै लगाइने अधिकारीहरुले बताएका छन् ।

खोप बनाउन प्रयोग भएका कुनै इन्ग्रेडियन्टका कारण गम्भीर एलर्जी हुने मानिसहरुलाई पनि खोप नदिइने योजना छ । विज्ञहरुको समितिले खोपलाई प्रयोगको अनुमति दियो भने मन्त्रालयले केही दिनभित्रै औपचारिक अनुमति जारी गर्ने अपेक्षा गरिएको छ । सरकारले छिटोमा यसै महीनाको अन्त्यदेखि स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन शुरु गर्ने अपेक्षा गरिएको छ ।