टोकियो, जापान ।
एकपछि अर्को छिटो संक्रमण फैलाउनसक्ने बेलायती कोरोना भाइरसका बिरामी जापानका विभिन्न शहरमा फेला पर्न थालेका छन् ।
बिहिबार मात्र साईतामा प्रिफेक्चरमा ३ जना यो संक्रामक भाइरसबाट संक्रमित व्यक्ति पाईएको सार्वजनिक भएकोमा शुक्रबार राजधानी टोकियोमा पनि फेला परेका छन् ।
यहाँको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयका अनुसार टोकियोमा एक महिलामा यो भाइरस संक्रमण पुष्टि गरिएको छ ।
५० बर्ष उमेर समुहकी ति महिला बिदेश भ्रमणमा गएको कुनै रेकर्ड नरहेको बताईएको छ ।
जनवरी २४ तारिख कोरोना संक्रमणजन्य संकेत देखिएकी महिलामा परीक्षण गर्दा पोजेटिभ पाईएको थियो । उनमा भएको भाइरस संक्रमणलाई थप परीक्षण गर्दा बेलायतमा महामारीको रुपमा फैलिएको परिवर्तित संक्रामक भाइरस भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको हो ।
संक्रमित महिला यसअघि टोकियोमा संक्रमण पाईएका अर्का ५० बर्षिय पुरुषको निकट सम्पर्कमा पुगेको देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
टोकियोमा पछिल्लो समय १७०० कोरोना भाइरस संक्रमितको भाइरस परीक्षण गर्दा केवल २ जनामा मात्र बेलायती संक्रामक भाइरस पाईएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयले यसअघि बेलायत उडान भर्ने पाइलट र उनको परिवारका सदस्यमा संक्रमण पाईएको घटनासँग यो संक्रमण सम्वन्धित हुनसक्ने अनुमान गरेको छ ।
यद्यपी हाल जापानमा यो भाइरस संक्रमण फैलिसकेको अवस्था भने नरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।