(Japan) 28 th July | 2026 | Tuesday | 4:24:44 AM || (Nepal) 1:09:44 AM
 
 

जापानले अस्त्रजेनेकाको ९ करोड कोरोना खोप आफैं उत्पादन गर्ने

  POSTED ON : Friday, 29 January, 2021 | Views : 2618

जापानले अस्त्रजेनेकाको ९ करोड कोरोना खोप आफैं उत्पादन गर्ने


टोकियो, जापान ।

आफ्ना १२ करोड ६० लाख जनसंख्यालाई पर्याप्त हुने गरी कोभिड–१९ विरोधी खोप सुनिश्चित गर्न जापान लागि परेको छ । विश्वभर खोपको आपूर्ति सीमित भएको पछिल्लो अवस्थामा जापानले भने बेलायती फर्मा कम्पनी अस्त्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ विरोधी खोप घरेलुस्तरमा नै उत्पादन गर्न लागेको भन्दै निक्केईले बुधवार समाचार छापेको हो ।

उत्पादनको काम बायोप्रविधि कम्पनी जेसीआर फर्मास्युटिकल्सले गर्नेछ । यस कम्पनीलाई अहिलेसम्म खोप उत्पादनको अनुभव भने छैन । तर यसले आवश्यक एडेनोभाइरस भेक्टर भने विकास गर्न सक्छ ।

अस्त्रजेनेकाले सम्झौताको शुरुमै जेसीआरलाई उत्पादनको अधिकार दिएको थियो । जेसीआरले खोपको ९ करोड डोज उत्पादन गर्ने अपेक्षा गरिएको छ । अहिले विदेशमा खोपको आपूर्ति सीमित रहेको समाचार आइरहेका छन् । यस प्रयासले समयमै जापानले आवश्यक डोज सुरक्षित गर्न नसक्ने हो कि भन्ने चिन्ता केही भएपनि मत्थर गर्ने अपेक्षा छ ।

अस्त्रजेनेका र जापान सरकारले डिसेम्बरमा १२ करोड डोज खोपको लागि सम्झौता गरेको थियो । स्थानीय स्तरमा उत्पादनको तयारी गत वर्षको शुरु देखि नै भइरहेको छ ।

जापानी औषधि नियामकहरुले उत्पादन एकाई र खोप दुबैलाई अनुमति दिनेतर्फ काम गरिरहेका छन् । स्थानीय स्तरमा उत्पादित खोप वितरणका लागि मेसम्मको समय लाग्न सक्ने अनुमान छ । खोपले एडेनोभाइरसलाई भेक्टर वा डेलिभरी एजेन्टको रुपमा प्रयोग गरेको छ । जेसीआरले अस्त्रजेनेकाको भेक्टर खोप पनि प्राप्त गरिसकेको छ ।