(Japan) 28 th July | 2026 | Tuesday | 4:28:33 AM || (Nepal) 1:13:33 AM
 
 

मार्चबाट जापानमा लक्षण नदेखिएका आशंकित सबैको कोरोना परीक्षण गरिने

  POSTED ON : Wednesday, 27 January, 2021 | Views : 3640

मार्चबाट जापानमा लक्षण नदेखिएका आशंकित सबैको कोरोना परीक्षण गरिने


टोकियो, जापान ।

देशभर कोभिड-१९ को फैलिँदो संक्रमणको मापन गर्न जापान सरकारले र्यान्डम पीसीआर परीक्षण गर्ने भएको छ । छिटोमा मार्चमा यो परीक्षण शुरु हुने भन्दै जापान टाइम्सले समाचार छापेको छ ।

हाल स्थानीय स्तरमा परीक्षण कोरोना भाइरसको संक्रमण पूष्टि भएका अनि उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको मात्रै भइरहेको छ । यद्यपि, यी र्यान्डम परीक्षणहरु लक्षण नदेखिएका व्यक्तिहरुमा गरिनेछ ।

टोकियो र ओसाका लगायत मुख्य शहरहरुमा भाइरस कसरी फैलिरहेको छ भनेर बुझ्नका लागि हरेक दिन हजारौं मानिसहरुको परीक्षण गरिने सरकारी स्रोतले बताएको छ । परिक्षणको नतिजा सम्बन्धित व्यक्तिहरुलाई निजी रुपमा पठाइनेछ ।

यस क्रममा संकलन गरिएको तथ्यांकले पनि परीक्षणमा सहभागी व्यक्तिहरुको पहिचान खुलाउने छैन । यसबाहेक पनि सरकारले भाइरसप्रति मानिसहरुको मनोवृत्तिबाट व्यवहारिक प्रवृत्तिमा आइरहेको परिवर्तन बुझ्न ट्विटरलगायत सामाजिक सञ्जालहरुबाट पनि अन्तरदृष्टि लिने योजना बनाइरहेको छ ।

यसरी संकलन गरिएको जानकारीहरु संक्रमितको संख्या चिन्ताजनक बन्नु भन्दा अगाडि नै सम्भावित वृद्धिको अनुमान गर्न विश्लेषण गरिनेछ । र्यान्डम परीक्षण विमानस्थलका साथै कम्पनी, शहरको भिडभाड युक्त ठाँउ र विश्वविद्यालय आदिमा समेत गरिनेछन । परीक्षण किटका नमूनाहरु स्थानीय साइट वा हुलाकमार्फत संकलन गरिनेछ ।