(Japan) 28 th July | 2026 | Tuesday | 4:25:17 AM || (Nepal) 1:10:17 AM
 
 

यस कारण जापानमा अधिकाशं खोप फाइजर कम्पनीको लगाईने

  POSTED ON : Sunday, 24 January, 2021 | Views : 6950

यस कारण जापानमा अधिकाशं खोप फाइजर कम्पनीको लगाईने


टोकियो, जापान ।

क्लिनिकल परीक्षणमा भएको ढिलाई र अन्य अवरोधका कराण तीन मध्ये दुई फर्मा कम्पनीका लागि जापानमा बसन्त अघि कोरोना भाइरस विरोधी खोप व्यवहारिक प्रयोगमा ल्याउन कठिन भएको छ । यस्तो अवस्थामा जापान सरकारले अमेरिकी फर्मा कम्पनी फाइजर इंकसँग खोप खरिद करीब २ करोड ४० लाख डोजले बढाएको छ ।

जनवरी २० मा यस विषयमा सरकार र कम्पनी बीच एक सम्झौता भएको छ । ढिला नगरीकन प्रारम्भिक चरणको खोप लगाउने कार्यक्रम शुरु गर्न जापानले पर्याप्त खोप सुरक्षित गर्न सक्नेमा स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले जोड दिएका छन् । तर यसका लागि जापानसँग फाइजरमाथि निर्भर हुनुबाहेक अन्य विकल्प भने छैन । जापान सरकारले जनवरी २० मा फाइजरसँग यही वर्षभित्र १४ करोड ४० लाख डोज कोभिड–१९ विरोधी खोप किन्ने सहमति भएको छ ।

यही सम्झौतालाई दृष्टिगत गरेर प्रधानमन्त्री योशिहिदे सुगाले जापानले समग्रमा ३१ करोड डोज खोप किन्ने हाउस अफ काउन्सिलर्समा बिहिवार एक भेलामा भनेका थिए । एक व्यक्तिमा खोपको दुई डोज दिनु पर्छ । यसको अर्थ जापानले किन्ने भनेको खोप यहाँको जनसंख्यालाई लगाएर पनि बढी हुन्छ । सरकारले फाइजरसँग सन् २०२० को जुलाईमा आधारभूत सम्झौता गर्दा सन् २०२१ को जुनको अन्त्यसम्ममा १२ करोड डोज प्राप्त गर्ने भनिएको थियो ।

तर अन्तिम सम्झौता परिवर्तन गरेर सन् २०२१ को अन्त्यसम्ममा १४ करोड ४० लाख डोज बनाइयो । बेलायती फर्मा कम्पनी अस्त्रजेनेका र अमेरिकी फर्मा कम्पनी मोडेर्नाबाट छिट्टै खोप प्राप्त नहुने सम्भावना बीच फाइजरलाई थप खोपका लागि अनुरोध गरिएको स्रोतको भनाइ छ ।

यस कदमलाई विश्वभर खोप किन्ने प्रतिस्पर्धा चलिरहँदा कम्पनीले भने जापानलाई मात्रै प्राथमिकता दियो भन्ने अर्थमा नहेरियोस् भनेर फाइजरले अवधि बढाएर वर्षको अन्त्य पुर्याउन अनुरोध गरेको थियो । अस्त्रजेनेकासँग जापान सरकारले गत वर्षको डिसेम्बरमा १२ करोड डोजका लागि सम्झौता गरेको थियो । यसअन्तर्गत यही वर्षको मार्चमा ३ करोड डोज उपलब्ध गराउनु पर्नेछ ।

तर बेलायत र अन्यत्र क्लिनिकल परीक्षणको अन्तिम चरणमा केही समस्या देखियो । बेलायतमा अस्त्रजेनेकाको खोपलाई अनुमति मिलिसकेको छ । तर अमेरिकामा भने यो परीक्षणकै क्रममा छ । अप्रिलमा अस्त्रजेनेकाको खोपले अनुमति पाउने अमेरिकी सरकार स्रोतले बताएको भन्दै रोयटर्सले समाचार छापेको थियो । जापान सरकारले पनि अमेरिकाको निर्णय कुरिरहेको छ ।

जापानले मोडेर्नासँग पनि जुनको अन्त्यसम्ममा ४ करोड डोज र सेप्टेम्बरको अन्त्यसम्ममा १ करोड डोज प्राप्त गर्न सम्झौता गरेको छ । जापानमा मोडेर्नाको खोपको क्लिनिकल परीक्षण शुरु भएको जनवरी २१ मा कम्पनीको घरेलु वितरणको जिम्मा पाएको जापानी फर्मा कम्पनी ताकेदा फर्माले बताएको थियो । मेमा खोप प्रयोगको लागि अनुमति मागिने र जुनदेखि वितरण शुरु गरिने कम्पनीले बताएको छ ।

खोप छिट्टै प्रयोगमा नआउने देखिएको छ । फाइजरको खोपले फेब्रुअरीको मध्यमा अनुमति पाउने र महीनाको अन्त्यतिर लगाउन शुरु गरिने अनुमानमा जापान सरकारले हतारमा तयारी गरिरहेको छ । खोपको लागि ५ करोड ७७ लाखलाई प्राथमिकतामा राखिने स्वास्थ्य मन्त्रालयको अनुमान छ । यस समूहमा खोप लगाउने कार्यक्रम कम्तिमा पनि मेसम्म लाग्ने अपेक्षा छ । यसको अर्थ यति बेला लगाइने अधिकांश खोप फाइजरको हुनेछ ।