(Japan) 24 th August | 2026 | Monday | 11:39:09 AM || (Nepal) 8:24:09 AM
 
 


टोकियोमा निशुल्क पीसीआर गर्ने निप्पोन फाउन्डेशनको घोषणा

  POSTED ON : Saturday, 23 January, 2021 | Views : 2402

टोकियोमा निशुल्क पीसीआर गर्ने निप्पोन फाउन्डेशनको घोषणा


टोकियो, जापान ।

टोकियोमा कोरोना भाइरसको सामूहिक संक्रमण रोक्न निप्पोन फाउन्डेशनले नयाँ कार्यक्रमको घोषणा गरेको छ । वृद्धवृद्धाहरुको हेरचाहमा संलग्न र लामो समयसम्म अस्पताल वा स्वास्थ्य संस्थामै बसेर उपचार गराउनु पर्ने बिरामीको रेखदेख गर्नु पर्ने जस्ता अत्यावश्यक स्वास्थ्य हेरचाहमा संलग्न कर्मचारीहरुको लागि लक्षित गरेर कम्पनीले सो कार्यक्रम ल्याएको हो ।

यो कार्यक्रम फेब्रुअरीदेखि जुलाईसम्म चल्ने जनाईएको छ । यसमा साप्ताहिक रुपमा त्यस्ता कर्मचारीहरुको निःशुल्क पीसीआर परीक्षण गरिनेछ । जापान अहिले तेस्रो चरणको कोभिड–१९ संक्रमणमा छ । वृद्धवृद्धाहरुको हेरचाह गरिने केन्द्रहरुमा देशभर नै सामूहिक संक्रमण फेला परिरहेको छ ।

संक्रमणको एउटा मार्ग यी स्थानहरुमा कार्यरत नर्सिङ केयर र अन्य कर्मचारी हुन् । संक्रमण शुरुमै पत्ता लगाउन नियमित पीसीआर परीक्षण एक भरपर्दो तरिका हो । तर लक्षण नै नदेखिएकाहरुमा यो परीक्षण गर्न निकै धेरै खर्च लाग्छ । कामकै आधारमा नियमित रुपमा परीक्षण गर्न खोज्ने मानिसको संख्या सीमित पारिएको छ ।

यो समस्या समाधान गर्न निप्पोन फाउन्डेशन डिजाष्टर इमर्जेन्सी सपोर्टले टोकियो महानगरको २८८४ मेडिकल र नर्सिङ केयर केन्द्रमा कार्यरत करीब १ लाख ९० हजार कर्मचारीको साप्ताहिक रुपमा पीसीआर परीक्षण गर्न एक एकाईको स्थापना गर्दैछ । यसका लागि फाउन्डेशनले २० अर्ब येन विनियोजन गरेको छ ।

कार्यक्रम अवधिभर २० लाख परीक्षण गर्ने लक्ष्य फाउन्डेशनको छ । कुनै एक कर्मचारीको परीक्षणको नतिजा सकारात्मक आयो भने ती कर्मचारी काम गर्ने स्थानको सबै बासिन्दा र संक्रमितको परिवारका सदस्यहरुको समेत निःशुल्क परीक्षण गरिनेछ ।

ती संक्रमित कर्मचारी उपचाररत रहँदा वा क्वारेन्टिनमा बस्दा उसको सट्टामा काम गर्न आउने कर्मचारीको वित्तपोषणका लागि फलोअप प्रणाली स्थापना गर्ने तयारी समेत भइरहेको छ । मानिसको जीवन भन्दा महत्वपूर्ण अरु कुनै कुरा नभएको निप्पोन फाउन्डेशनका अध्यक्ष सासाकावा योउहेईले बताएका छन् ।