(Japan) 22 nd September | 2026 | Tuesday | 3:18:39 PM || (Nepal) 12:03:39 PM
 
 


टोकियो क्षेत्रमा शक्तिशाली आँधी ‘दुजुआन’ले दुई जनाको मृत्यु, बाढी, पहिरो र लाखौं प्रभावित ३ सय बढि उडान रद्द

  POSTED ON : Tuesday, 22 September, 2026 | Views : 48

टोकियो क्षेत्रमा शक्तिशाली आँधी ‘दुजुआन’ले दुई जनाको मृत्यु, बाढी, पहिरो र लाखौं प्रभावित ३ सय बढि उडान रद्द


टोकियो, जापान ।

सोमबार जापानको राजधानी टोकियो आसपास शक्तिशाली आँधी ‘ताइफु दुजुआन’ का कारण जापानमा जनजीवन नराम्ररी प्रभावित भएको छ। आँधीसँगै आएको भारी वर्षाका कारण बाढी, पहिरो र यातायात अवरुद्ध हुँदा १६ लाखभन्दा बढी मानिसका लागि उद्धार तथा सुरक्षित स्थानतर्फ जानसम्बन्धी सूचना जारी गरिएको थियो । सयौं उडान रद्द गराएको ताइफुका कारण कम्तिमा दुई जनाको निधन भएको छ ।

सोमबार जापानको राजधानी टोकियोबाट दक्षिणतर्फ रहेको कात्सुरा क्षेत्रबाट करिब १३० किलोमिटर टाढा रहँदा आँधीको हावाको गति प्रतिघण्टा करिब १४४ किलोमिटर पुगेको थियो । आँधीका कारण हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

स्थानीय अधिकारीहरूका अनुसार आँधीका कारण दुई जनाको मृत्यु भएको छ । चिबा र टोकियो आसपासका विभिन्न क्षेत्रमा सडक तथा आवासीय क्षेत्रमा पानी पसेको छ । कामाकुरा क्षेत्रमा पनि व्यापक बाढी आएपछि स्थानीय प्रशासनले सडकमार्फत यात्रा नगर्न चेतावनी दिएको थियो ।

आँधीका कारण हवाई तथा रेल सेवा समेत प्रभावित भएका छन् । सोमबार जापान एयरलाइन्सका १३५ उडान रद्द भएका थिए भने अल निप्पोन एयरवेजले १४० उडान रद्द गरेको थियो। हानेदा विमानस्थलमा धेरै यात्रु अलपत्र परेका थिए ।

टोकियो–ओसाका जोड्ने केही शिन्कान्सेन सेवा पनि स्थगित गरिएको जापान रेलवेजले जनाएको छ। भारी वर्षाका कारण सडक यातायातमा समेत ठूलो समस्या देखिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार मंगलबारसम्मको कुल वर्षा सेप्टेम्बर महिनाको औसत मासिक वर्षाभन्दा बढी हुन सक्ने र केही क्षेत्रमा रेकर्ड भारी वर्षा हुन सक्ने चेतावनी दिइएको थियो ।

आँधीका कारण टोकियोमा आयोजना भइरहेको टोकियो गेम शो अन्तिम समयअगावै बन्द गरिएको थियो । चिबामा आयोजना हुने तय भएका बाहिरी संगीत महोत्सव तथा बेसबल खेल पनि रद्द भएका छन् ।

मंगलबार बिहानसम्म ‘दुजुआन’ जापानको पूर्वी तटबाट टाढिँदै उत्तरपूर्वतर्फ प्रशान्त महासागरमा अघि बढिरहेको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ । तर आँधी टाढिँदै गए पनि प्रभावित क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।