टोकियो, जापान ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा रहेका जापानका परराष्ट्रमन्त्री तोसिमित्सु मोतेगी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
जापानको विदेश मन्त्रालयका अनुसार स्थानीय समयअनुसार सेप्टेम्बर २१ तारिख साँझ ४ः५५ बजे (जापान समय सेप्टेम्बर २२ बिहान ५ः५५ बजे) सुरु भएको भेटवार्ता करिब ३० मिनेट चलेको थियो ।
भेटवार्तामा मन्त्री मोतेगीले नेपालमा हालै आएको अभूतपूर्व बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए । उनले विपद्पछि उद्धार तथा पीडितको सहयोगमा नेपाल सरकारले गरिरहेको प्रयासप्रति सम्मान पनि व्यक्त गरेका थिए ।
भेटका अवसरमा मोतेगीले जापानले नेपाललाई तत्कालीन उद्धार तथा राहत चरणदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानले यसअघि आपत्कालीन राहत सामग्री, अन्तर्राष्ट्रिय संस्थामार्फत ३० लाख अमेरिकी डलर बराबरको आपत्कालीन अनुदान, बेपत्ता तथा मृतकको पहिचानका लागि विशेषज्ञ टोली र डीएनए परीक्षण उपकरण सहयोग गर्ने घोषणा गरिसकेको छ ।
जापानी पक्षले नेपाल आफ्नो दीर्घकालीन मित्र राष्ट्र भएकाले आवश्यक सहयोग जारी राख्ने बताएको छ ।
जवाफमा नेपाली परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा पहिरोबाट प्रभावित नेपालप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । सम्पर्कविहीन नेपाली तथा विदेशी नागरिकको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले निरन्तर प्राथमिकताका साथ खोजि कार्य अघि बढाइरहेको पनि उनले जानकारी गराए ।
७०औँ कूटनीतिक सम्बन्ध स्थापना वर्ष
भेटवार्तामा यस वर्ष जापान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको विषयमा पनि छलफल भएको थियो ।
मोतेगीले नेपालमा नोभेम्बरमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ गहिरो बनाउन योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।
त्यसैगरी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईका को सहयोगमा निर्माण भएको नागढुंगा सुरुङमार्ग लगायत आर्थिक विकासका लागि आवश्यक पूर्वाधार, घरेलु उद्योग तथा औद्योगिक क्षमता विकास र गुणस्तरीय शिक्षाका क्षेत्रमा नेपाललाई सहयोग निरन्तरता दिने प्रतिबद्धता पनि मोतेगीले व्यक्त गरे।
जापानी विदेश मन्त्रालयका अनुसार नेपालका परराष्ट्रमन्त्री खनालले पनि जापान सरकार र जापानी जनताबाट लामो समयदेखि प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षलाई आधार बनाएर दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्ने इच्छा व्यक्त गरेका छन् ।