टोकियो, जापान ।
जापानले लक्षण नै देखा नपरेका मानिसमा कोरोना भाइरसको एन्टिजेन परीक्षण विस्तार गर्ने भएको छ ।
एन्टिजेन परीक्षण पीसीआर भन्दा सजिलो र छिटो हुन्छ । अहिले यो परीक्षण लक्षण देखिएका कोभिड–१९ का बिरामीमा मात्रै सीमित छ । तर यसलाई पीसीआर भन्दा अलि कम शुद्ध बताइन्छ ।
जापानमा अनुसन्धाताहरुले संक्रमण तीव्र दरमा फैलिरहेको अवस्थामा यी दुई परीक्षण विधिको शुद्धताको नतिजामा खासै ठूलो अन्तर नदेखेको मन्त्रालयले बताएको छ ।
अब भने मन्त्रालयले एन्टिजेन परीक्षण स्वास्थ्य संस्था र नर्सिङ केयर होममा काम गर्ने कर्मचारी बिरामी र वृद्धा बासिन्दामा पनि गर्ने भएको छ । परीक्षणको नतिजा सकारात्मक आयो भने यसलाई पीसीआर मार्फत पुनः पूष्टि पनि गरिनेछ ।
स्वास्थ्य संस्था लगायतका स्थानमा ठूलो परिणाममा परीक्षण गराउँदा छिट्टै संक्रमित पहिचानमा मद्दत मिल्ने र यसले सामूहिक संक्रमण पनि रोक्ने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।