(Japan) 24 th August | 2026 | Monday | 11:42:21 AM || (Nepal) 8:27:21 AM
 
 


जापानमा अर्को कोरोना भाइरस फेला, बेलायत र दक्षिण अफ्रिका भन्दा भिन्न

  POSTED ON : Monday, 11 January, 2021 | Views : 4604

जापानमा अर्को कोरोना भाइरस फेला, बेलायत र दक्षिण अफ्रिका भन्दा भिन्न


टोकियो, जापान ।

जापानको हानेदा बिमानस्थलमा युके र दक्षिण अफ्रिका भन्दा भिन्न कोरोना भाइरसको प्रकार फेला परेको छ ।

यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जनवरी २ तारिखमा ४ जना व्यक्तिमा त्यस्तो भाइरस संक्रमण फेला पाईएको हो ।

संक्रमित पाईएकाहरुमा चार जना महिला र पुरुषहरु रहेका छन् । यो युनाइटेड किंगडम र दक्षिण अफ्रिकामा भेटिएको भन्दा फरक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापानमा पहिलो पटक घरेलु परीक्षणमा यस भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार युवा उमेरका सहित ४० बर्ष नाघेका चार पुरुष र महिलाहरुमा संक्रमण पुष्टि गरिएको छ । संक्रमित पाईएका सबै ब्राजिलको अमाजोनस राज्यबाट आएका थिए ।

ती चारजनामा हानेदा बिमानस्थल क्वारिन्टिनमा गरिएको परीक्षणमा नयाँ कोरोना भाइरसको सकारात्मक परीक्षण पाईएको थियो । संक्रमणको नमूनालाई संक्रामक रोगहरूको राष्ट्रिय संस्थानमा विश्लेषणका लागि पठाईएकोमा यो परिवर्तित नयाँ स्वरुपको कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

यद्यपि ब्रिटिश र दक्षिण अफ्रिकामा अहिलेसम्म पाईएको संक्रामक भाइरसहरुसँग यो मिल्दोजुल्दो रहेको बताईन्छ । जापानको संक्रामक रोगहरूको राष्ट्रिय संस्थानले यस संक्रमणलाई अनुसन्धान गरिरहेको र यो फरक भाइरस भएको बताएको छ ।

जापानमा घरेलु परीक्षणमा यस प्रकारको नयाँ भाइरस संक्रमणको पुष्टि गरिएको यो पहिलो पटक हो ।