टोकियो, जापान ।
जापानमा कोरोना भाइरस बिरोधी खोप आम रुपमा लगाउन अझै ३ महिना कुर्नुपर्ने देखिएको छ ।
जापानमा अमेरिकी फर्मा कम्पनी मोडेर्नाले विकास गरेको कोभिड–१९ विरोधी खोपलाई मेसम्म अनुमति मिल्ने सम्भावना देखिएको छैन । यसले टोकियो ओलम्पिक्स शुरु हुनु यता देशभर खोप लगाइने योजना माथि शंका उत्पन्न भएको छ ।
ओलम्पिक्स जुलाईको अन्त्यतिर शुरु गर्ने हो भने जापानले कम्तिमा पनि ५४ करोड डोज खोप सुरक्षित गर्नु पर्नेछ । यो जापानका १२ करोड ६० लाख जनताका लागि पर्याप्त हुनेछ । तर खोपलाई अनुमति दिनु अघि स्थानीय क्लिनिकल परीक्षण गर्नु पर्ने भएकोले टोकियो सामु ठूलै नियामक अवरोध रहेको छ ।
जापानले मोर्डेनाको खोप माथि परीक्षण गरिरहँदा अमेरिका, यूरोप, क्यानेडा र इजरायलले भने खोपलाई अनुमति दिएर यही महीना देखि लगाउन शुरु गरिदैंछ । परीक्षण पूरा हुन कयौं महीना लाग्ने र अवस्था सोचे अनुरुप राम्रो भयो भने पनि मेमा मात्रै अनुमति मिल्न सक्ने ताकेदा फर्मास्युटिकल कम्पनीका खोप व्यवसाय प्रमुख मासायुकी इमागावाले बताए ।
ताकेदा जापानको सबैभन्दा ठूलो औषधि निर्माता कम्पनी हो । टोकियो ओलम्पिक्स हुनु अघि जुनसम्ममा सबै नागरिकका लागि पुग्ने खोप सुनिश्चित गर्ने प्रधानमन्त्री योशिहिदे सुगाको लक्ष्यमा ताकेदा महत्वपूर्ण कारक हो । टोकियो ओलम्पिक्स जुलाई २३ देखि शुरु हुने कार्यक्रम छ ।
मोर्डेनाको खोप प्रयोगका लागि जापानमा अनुमति लिने र खोप आयात गर्ने अनि नोभाभ्याक्स इंकको खोप स्थानीय स्तरमा उत्पादन गर्ने जिम्मा ताकेदाले लिएको छ । जापानले अक्सफोर्ड विश्वविद्यालय र अस्त्रजेनेकाले बनाएको कोभिड–१९ विरोधी खोप पनि किन्दैछ । तर जापानमा नियामक समीक्षाको प्रक्रियामा फाइजर इंक र बायोएनटेकले बनाएको खोप मात्रै रहेको छ ।
जापानले फाइजर र अस्त्रजेनेकासँग १२/१२ करोड डोज खोप किन्दैछ । ताकेदा मार्फत मोर्डेनाको ५ करोड र नोभाभ्याक्सको २५ करोड डोज खोपको व्यवस्था गरिदैंछ । नियामक अवरोध बाहेक पनि उत्पादनको व्यवस्थापन, लजिष्टिक चुनौतीहरुले पनि खोप वितरणमा चुनौती उत्पन्न गराउने देखिएको छ ।
जापानमा पछिल्लो समय दैनिक ६/७ हजार संक्रमित देखा परिरहेका छन् । बिहिबार देशभर ७ हजार भन्दा धेरै संक्रमित थपिएका थिए । प्रधानमन्त्री सुगाले टोकियो र आसपासका तीन प्रिफेक्चरमा एक महिना लामो आपतकालको घोषणा गरेका छन् । आवश्यक परिणाममा खोपको उत्पादन गर्न विभिन्न कारखानासँग करार गर्नु पर्ने र विश्भरि नै प्रविधि स्थानान्तरण गरिनु पर्ने इमागावा बताउँछन् । यति सबै गर्दा पनि पर्याप्त आपूर्ति सुनिश्चित गर्नु चुनौती नै भएको उनको भनाइ छ ।
फाइजरले जापानमा पहिलो र दोस्रो चरणको परीक्षण गरिसकेको छ । यसले खोप प्रयोगका लागि अनुमति माग्दै आवेदन पनि दिइसकेको छ । फाइजरको खोप फेब्रुअरीको अन्त्यदेखि प्रयोग गर्न शुरु गर्ने अपेक्षा आफूले गरेको सुगाले बताएका थिए ।
अस्त्रजेनेकाले पनि सेप्टेम्बरमा नै आफ्नो खोपको परीक्षणहरु शुरु गरिसकेको छ । कम्पनीको खोपले भारत, बेलायत, अर्जेन्टिनामा प्रयोगको अनुमति पाइसकेको छ । दक्षिण कोरिया र मेक्सिकोमा पनि अनुमतिका लागि आवेदन दिएको छ । तर कम्पनीले जापानमा भने नियामक अनुमतिका लागि आवेदन भने दिएको छैन । यसबारे कम्पनीले पनि कुनै प्रतिक्रिया दिन मानेन । नोभाभ्याक्सको सम्भावित खोपको क्लिनिकल परीक्षण आगामी महिना शुरु गर्ने र अनुमति मिलेपछि यामागुची प्रिफेक्चरस्थित कम्पनीको कारखानामा खोप व्यापक स्तरमा उत्पादन शुरु गर्ने अपेक्षा ताकेदाको रहेको इमागावाले बताए ।