(Japan) 28 th July | 2026 | Tuesday | 12:07:54 AM || (Nepal) 8:52:54 PM
 
 

अहिलेको कोरोना महामारी ब्यवस्थापन तयारिमा जापानका अस्पतालहरुले बेवास्ता गरेकोमा आलोचना

  POSTED ON : Thursday, 07 January, 2021 | Views : 2142

अहिलेको कोरोना महामारी ब्यवस्थापन तयारिमा जापानका अस्पतालहरुले बेवास्ता गरेकोमा आलोचना


टोकियो, जापान ।

जापानमा कोरोना भाइरसको प्रकोपको चपेटामा आएका क्षेत्रका अस्पतालहरु बिरामीका लागि पर्याप्त शैयाको व्यवस्था गर्न संघर्षरत छन् । यूरोप र अमेरिकाको तुलनामा जापानमा संक्रमितको संख्या निकै न्यून छ र अस्पतालहरुमा शैया पनि धेरै छ । तर यिनीहरुले बद्लिँदो परिस्थिति अनुसार आफूलाई समायोजन गर्न नसक्दा अवस्था कठिन बनिरहेको छ ।

जाडोका महिनाहरुमा बिरामीको संख्या झनै बढ्न सक्ने चेतावनी कयौं विज्ञहरुले दिइरहेका थिए । तर अस्पतालहरुमा कोरोना भाइरस संक्रमितका लागि छुट्टयाइएको शैयाको संख्या पहिलो चरणको संक्रमणको भन्दा वास्तवमा कम छ । समग्रमा क्षमतामा कमी त छैन । जापानमा नियमित बिरामीका लागि अस्पतालहरुमा ९ लाख शैया छन् । तर कोभिड–१९ का बिरामीका लागि भने यस मध्ये करीब ३ प्रतिशत मात्रै छुट्टयाइएको छ ।

मध्य मेमा देशभर करीब ३ हजार ४ सय कोभिड–१९ का बिरामीहरु अस्पतालमा भर्ती हुँदा ३० हजार भन्दा बढी शैया उपलब्ध थिए । तर मध्य अगष्टमा उपलब्ध शैयाको संख्या घटेर २७ हजारमा झर्यो ।

त्यति बेला संक्रमणले मूलतः युवाहरुलाई बढी प्रभावित पारेको र गम्भीर प्रकृतिका बिरामीको संख्या तुलनात्मक रुपमा कम भएकोले स्थानीय अधिकारीहरु क्षमता बढाउन खासै इच्छुक देखिएनन् । परिणामस्वरुप, चार महीना अघिको तुलनामा डिसेम्बरको अन्त्यससम्ममा उपलब्ध शैयाको संख्या पनि घटयो ।

जापानको तुलनामा अन्य देशका अस्पतालहरु संक्रमित बिरामीको संख्या बढेसँगै बढि लचिलो पाइएको छ । अमेरिकामा राज्यस्तरका स्वास्थ्य अधिकारीहरुसँग उल्लेख्य शक्ति रहेको छ ।

न्यूयोर्कले राज्यभरका सबै अस्पतालहरुलाई २५ प्रतिशत धेरै शैया थप्न निर्देशन दिनुको साथै सेवा निवृत्त भइसकेका डाक्टर र नर्सहरुलाई समेत काममा फर्किन आदेश दियो । बेलायतको नेशनल हेल्थ सर्भिसले डिसेम्बरमा अस्पतालमा सम्भव भएसम्म सबै शैया कोरोना संक्रमितको लागि खाली गर्न निर्देशन दिएको थियो ।

तर जापानमा पहिलो चरणको संक्रमणको तुलनामा अहिले स्थिति खराब बन्दा पनि शैयाको संख्या खासै बढाइएको छैन ।

टोकियोस्थित यूनिभर्सिटी अस्पतालमा शैया खाली हुने बित्तिकै अर्को बिरामी आइहाल्ने एक कर्मचारीले बताए । टोकियो मेडिकल एण्ड डेनटल यूनिभर्सिटी अस्पतालमा पनि गम्भीर प्रकृतिका बिरामीका लागि भने छुट्टयाइएको करीब आठ ओटै शैया लगभग खाली नहुने र मध्यमखालका बिरामीका लागि भने छुट्टयाइएको २५ ओटा शैया पनि ६० देखि ७० प्रतिशतसम्म भरि हुने गरेको बताइएको छ ।

देशभर पनि डिसेम्बरको अन्त्यसम्म नगरपालिकाहरुले कोरोना भाइरसका बिरामीका लागि उपलब्ध गराउन सक्ने ४० प्रतिशत शैया बिरामीले भरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । तर टोकियो र कोरोना प्रभावित अन्य क्षेत्रमा भने ५० प्रतिशतभन्दा बढी शैया भरिएको बताइएको छ ।