टोकियो, जापान ।
जापानको राजधानी टोकियोले अहिलेसम्मका सबै कोरोना संक्रमितको रेकर्ड तोड्दै बुधवार करिव १६ सय बिरामी थपिएको घोषणा गरेको छ ।
टोकियो महानगर अधिकारीहरुका अनुसार जनवरी ६ तारिख बुधवार ३ बजेसम्ममा एकैदिन कम्तिमा १५ सय ९१ जना कोभिड-१९ का बिरामी पुष्टि भएका छन् ।
जापानभर संक्रमण बढ्ने क्रममा टोकियोले आफ्नो पुरानो सर्वाधिक संक्रमित बृद्धिको रेकर्ड भंग गरेको छ ।
टोकियोले गत हप्ताको बिहिबार १,३३७ नयाँ संक्रमित बृद्धिको खराब किर्तिमान बनाएको थियो ।
प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो र आसपासका तीन प्रिफेक्चरमा आपतकाल घोषणा गर्ने भनिएको एक दिन अघि टोकियोमा कोरोना संक्रमितको संख्या मुल फुटे सरह विस्फोटक संख्यामा पाईएको हो ।
जापानमा यसअघि हिजो मंगलबार ४९ सय भन्दा धेरै कोरोना संक्रमित थपिएको रेकर्ड बनेको थियो । टोकियोमा पुष्टि भएको संख्या हेर्दा आज जापानले आफ्नो हिजोको त्यो किर्तिमान तोड्ने देखिएको छ । हिजो नै जापानमा ७६ संक्रमितको निधन भएको सर्वाधिक संख्या बनेको छ ।
टोकियोमा हिजो मात्र १,२७८ जना कोरोनाका बिरामी पाईएका थिए ।
राजधानी टोकियोमा हिजोसम्ममा कोरोना भाइरसबाट संक्रमित १११ जना बिरामी गम्भिर अवस्थामा पुगेको तथ्यांक रहेको छ ।
लगातार कोभिड १९ संक्रमित बिरामी बृद्धिले टोकियोमा कोरोनाका बिरामीलाई छुट्याईएको अस्पतालका बेडहरु भरिने अवस्थामा पुगेका छन् ।