(Japan) 28 th July | 2026 | Tuesday | 12:10:15 AM || (Nepal) 8:55:15 PM
 
 

जापानमा कोरोनाको खोप वितरण गर्न टोली तयार पार्न सुरुवात

  POSTED ON : Wednesday, 06 January, 2021 | Views : 2042

जापानमा कोरोनाको खोप वितरण गर्न टोली तयार पार्न सुरुवात


टोकियो, जापान ।

जापानका नगरपालिकाहरुले कोरोना भाइरस विरोधी खोप वितरणको तयारी गर्न टोली तयार पार्न थालेका छन् । यसैबीच टोकियो नजिक रहेको एक शहरले पनि यस प्रक्रियामा सहकार्य गर्ने टोली गठन गरेको छ । खानागावा प्रिफेक्चरको इबिना शहरले सोमबार यस वर्षको पहिलो कार्यदिनमा १४ सदस्यीय एक टोली बनाएको छ ।

जापानी प्रधानमन्त्रीले फ़ेब्रुअरीको अन्त्यमा खोप लगाउन शुरु गर्ने घोषणा गरेकै दिन टोलीमा सदस्यहरु चयन गरिएको हो । इबिनाका मेयर यूचिनो मासाराले समूहका सदस्यहरुलाई बोलाएर खोप कहिले आउँछ र खोप लगाउने विधीबारे जानकारी तत्कालै जम्म गर्न र शहरव्यापी प्रणालीको सृजना गर्न भनेका छन् ।

टोलीमा स्वास्थ्य र कल्याण विभागका साथै मेयरका कार्यालय लगायत नगरका विविध विभागका व्यक्तिहरु समाविष्ट छन् । यिनीहरुले खोपसम्बन्धी भौचर पठाउने, खोप लगाउने स्थान र मिति चयन गर्ने र मेडिकल कर्मचारीहरु खटाउने काम गर्नेछन् ।

आफ्नो टोलीले खोपको प्रभावकारिता र जोखिम सम्बन्धी शुद्ध जानकारी उपलब्ध गराउने समूहका नेतृत्वकर्ता कोमाचु युकियाले बताएका छन् । खोप लगाउन ईच्छुकहरुलाई खोप उपलब्ध भएको समूहले सुनिश्चित गर्ने र मानिसहरुको जीवन र स्वास्थ्यको रक्षा गर्न सक्दो प्रयास गर्ने समेत उनले बताए ।