टोकियो, जापान ।
बहुप्रतिक्षित कोरोना बिरोधी खोपको पहिलो लट जापान आईपुगेको छ ।
तर यो लटको खोप जापानमा आम प्रयोगमा नभई जापानमा रहेको दुई अमेरिकी हवाई सैनिक सिवरमा रहेका अमेरिकी सेनाको लागि आएको हो ।
अमेरिकी कम्पनी मोडेर्ना इंकले तयार पारेको कोभिड–१९ विरोधी खोप अमेरिकाले आफ्ना सैनिकका लागि पठाएको हो । शनिवार पश्चिम टोकियोमा रहेको योकोता हवाई शिविरमा खोपको पहिलो डेलिभरी भएको बताइएको छ । यो पश्चिम प्रशान्तमा रहेको अमेरिकी सेनाहरुका लागि आइपुगेको पहिलो खोप हो ।
त्यस्तैगरी ओकिनावा स्थित खादेना हवाई शिविरमा पनि खोपको डेलिभरी भएको बताइएको छ । यी खोप एक महिनाको अन्तरालमा दुई पटक दिइनेछ । अमेरिकाले पहिलो डोज सार्वजनिक सुरक्षामा खटिएका व्यक्तिहरु र स्वास्थ्य हेरचाह कामदारहरुलाई दिने नीति अनुसार उसका सैनिकहरुको लागि खोप पठाएको हो ।
खोप अमेरिकाको खाद्य तथा औषधि प्रशासन अपातकालिन प्रयोगका लागि अनुमति दिएकोले प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउन प्रेरित गरिने खादेना शिविरले बताएको छ ।
योकोता शिविरमा ८०० डोज खोप आएको भएपनि खादेना शिविरमा खोपको कति डोज आएको छ भन्ने बताइएको छैन । अमेरिकी प्रतिरक्षा मन्त्रालयले जापानमा रहेका अन्य ४ सैनिक शिविरमा पनि मोडेर्नाको खोप पठाउँदै गरेको बताइन्छ ।