टोकियो, जापान ।
दैनिक कोरोना भाइरसका बिरामीको संख्यामा बृद्धिहुँदै जाँदा जापानमा आधा दर्जन बढी प्रिफेक्चर उच्च चपेटामा परेका छन् ।
कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पतालहरुमा कोरोनाका बिरामीको लागि छुट्याईएका शैया धमाधम भरिइरहेका छन् । गम्भीर प्रकृतिका बिरामीका लागि भनेर छुट्टयाइएको टोकियो, ओसाका र होक्काईदोमा भरिने अवस्थामा पुगेको छ ।
मंगलबार सम्ममा सात प्रिफेक्चरहरु चौंथो चरणमा छन् । यो चार स्तरको अलर्ट मापनमा सबैभन्दा उच्च हो ।
स्तर चारको अर्थ संक्रमितको संख्यामा भएको विष्फोटक वृद्धिका कारण स्वास्थ्य हेरचाह प्रणाली धराशयी हुने जोखिममा रहेको छ भन्ने बुझाउँछ । अस्पतालमा शैयाको अकुपेन्सी दर ५० प्रतिशत वा सो भन्दा धेरै भएको ठाउँमा अलर्ट सो स्तरमा पु¥याइएको हुन्छ ।
अकुपेन्सी दर ओसाकामा सबैभन्दा उच्च ६३ दशमलव ८ प्रतिशत छ । दोस्रो उच्च अकुपेन्सी रहेको ह्योगोमा यो दर ६१ दशमलव ९ प्रतिशत छ । गुन्मा, कोची र आइचीमा भने यो दर क्रमशः ६१ दशमलव ८ प्रतिशत ५९ दशमलव ५ प्रतिशत र ५५ दशमलव ५ प्रतिशत रहेको छ । त्यस्तैगरी, टोकियोमा ५३ दशमलव ७ प्रतिशत र होक्काइदोमा ५१ दशमलव १ प्रतिशत छ ।