(Japan) 27 th July | 2026 | Monday | 10:05:34 PM || (Nepal) 6:50:34 PM
 
 

जापानमा हिजो अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमण, सक्रिय संक्रमित नै ३५ हजार

Jack Khadka   POSTED ON : Sunday, 27 December, 2020 | Views : 3112

जापानमा हिजो अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमण, सक्रिय संक्रमित नै ३५ हजार


टोकियो, जापान ।

जापानमा डिसेम्बर २६ तारिख अहिलेसम्मकै सर्वाधिक संख्यामा नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन् ।

यहाँको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयका अनुसार अघिल्लो दिन पुष्टि भएको रेकर्डलाई ब्रेक गर्दै शनिवार ३८ सय ८१ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।

यसअघि २५ तारिख शुक्रबार ३८ सय ३१ जनामा कोभिड १९ संक्रमण भएको पाईएको थियो ।

यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार जापानमा कोरोना भाइरस संक्रमित भएर उपचार गरिरहेका व्यक्तिको संख्या ३५ हजार पुगेको छ । शनिवार रात १ बजेको विवरण अनुसार जापानमा ३५ हजार ५२ जना सक्रिय कोरोना भाइरसका संक्रमित छन् ।

शनिवार देशभर गरेर ४७ जना कोरोना संक्रमित बिरामीको निधन भएको छ । धेरै ज्यान गुमाएका तीन स्थानमा ओसाका ११, टोकियो १० र ह्योगो प्रिफेक्चर ८ जना रहेको छ ।

संक्रमित तर्फ टोकियोमा किर्तिमानी संख्या ९४९ जना पुष्टि भएको छ । यसैगरि टोकियोसँगै रहेको खानागावा प्रिफेक्चर ४८०, ओसाका २९९ तथा आईची र साईतामा प्रिफेक्चरमा समान २६५ जना नयाँ कोरोनाका बिरामी भेटिएका छन् ।

४७ मध्ये ४६ वटा प्रिफेक्चरमा नयाँ कोरोनाका बिरामी पुष्टि हुँदा एयरपोर्ट क्वारिन्टिनमा नयाँ ९ जना कोरोनाका बिरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख १९ हजार १ सय ४६ पुगेको छ । यसमा योकोहामा क्रुजका ७१२ संक्रमित समेत समावेश छन् । यद्यपी जापानमा रहेको अमेरिकी सैन्य शिविरमा संक्रमित पाईएकाहरु यसमा जोडिएको छैन ।

यसैगरि कोरोना भाइरसबाट बिरामी भएर हालसम्म ३२ सय ४७ जनाले ज्यान गुमाएको मन्त्रालयको विवरणमा उल्लेख छ । निधन हुनेको यो संख्यामा १३ जना क्रुजमा संक्रमित भएर ज्यान गुमाएका व्यक्तिहरु समेत रहेका छन् ।

शनिवार कोरोना संक्रमित भएका थप १० जना गम्भिर बिरामी थपिएर कुल संख्या ६ सय ५४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै धेरै कोरोनाका गम्भिर बिरामीको संख्या हो ।

कोरोना भाइरसबाट संक्रमित भएका हालसम्म १ लाख ८० हजार ८ सय ४७ जना निको भईसकेका छन् । यो संख्यामा योकोहामा क्रुजका ६५९ पनि समावेश छन् ।

कोरोना भाइरस संक्रमण परीक्षण तर्फ डिसेम्बर २४ तारिख ३२ हजार ६ सय ५० जनाको पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।