(Japan) 27 th July | 2026 | Monday | 10:05:33 PM || (Nepal) 6:50:33 PM
 
 

टोकियोमा कोरोना संक्रमण बृद्धि अत्यासलाग्दो, एकैदिन झण्डै एक हजार संक्रमित थप

  POSTED ON : Saturday, 26 December, 2020 | Views : 3160

टोकियोमा कोरोना संक्रमण बृद्धि अत्यासलाग्दो, एकैदिन झण्डै एक हजार संक्रमित थप


टोकियो, जापान ।

कारोना भाइरसका बिरामी बृद्धिमा एकपछि अर्को खराब रेकर्ड राख्न थालेको टोकियोमा आज फेरी अहिलेसम्मकै सर्वाधिक नियाँ किर्तिमान बनेको छ ।

टोकियो महानगरका अनुसार डिसेम्बर २६ तारिख शनिवार दिउँसो ३ बजेसम्ममा ९ सय ४९ जना नयाँ कोरोनाका बिरामी थपिएका छन् ।

टोकियोमा यसअघि एकदिन अघि मात्र डिसेम्बर २४ तारिख सर्वाधिक ८८८ संक्रमित भेटिंदा हिजो २५ तारिख ८४८ नयाँ कोरोनाका बिरामी पुष्टि भएका थिए ।

टोकियोमा यसअघि भएका संक्रमित संख्याको रेकर्ड भत्कंदै र नयाँ बन्ने क्रममा डिसेम्बर महिनामा मात्रै २६ तारिख १२ औं पटक नयाँ रेकर्ड बनेको हो ।

टोकियोमा शनिवार थपिएका सहित कुल कोरोनाका बिरामीको संख्या ५५ हजार ८ सय ५१ पुगेको टोकियो महानगरले जनाएको छ ।

हाल टोकियोमा कोरोना भाइरसका बिरामी मध्ये उपचाररत ८१ जना गम्भिर अवस्थामा पुगेका छन् ।

महानगरका अनुसार गम्भिर बिरामीको यो संख्या कोरोना महामारी यताकै सर्वाधिक हो । टोकियोमा हाल गम्भिर बिरामीको लागि २२० अस्पतालका बेड सुरक्षित रहेकोमा ८१ जना उपचाररत छन् ।

यसैगरि कोरोना संक्रमित भएर उपचार आवश्यक पर्ने बिरामीको लागि टोकियो महानगरले ३५ सय बेड तयार राखेको छ । यस मध्ये हालसम्म करिव २२ सय जनाले उपचार गरिरहेको महानगरको तथ्यांकमा उल्लेख छ । अर्थात् अब केवल ८ सय बेड मात्र उपचारको लागि बाँकी रहेको छ । जबकी दैनिक संक्रमितको संख्या नै एक हजारको हाराहारीमा पुगेको छ ।

महानगरले संक्रमित मध्ये सबैको लागि अस्पतालको बेड आवश्यक नपर्ने जनाउँदै धेरै व्यक्ति होटलमा तयार क्वारिन्टिन तथा कतिपय घरमै सेल्फ आइसोलेसनमा रहँदा सामान्य रुपमै ठिक भएको जनाएको छ ।

टोकियोमा हालसम्म कोरोना भाइरस संक्रमित भएका ६ सय जनाको निधन भएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये ४८ हजार व्यक्ति निको भएर डिस्चार्ज भइसकेको टोकियो महानगरका अधिकारीहरुले बताएका छन् ।

यसरी कुल संक्रमित संख्यामा निधन र निको भएकाको संख्या हेर्दा हाल टोकियोमा सक्रिय कोरोना भाइरसका बिरामीको संख्या ७ हजार ५ सयको संख्यामा रहेको छ ।