टोकियो, जापान ।
कोभिड-१९ भाइरस विरोधी खोप फेब्रुवरीबाटै लगाउन सुरु गर्न जापानले प्राथमिकता निर्धारणलाई अघि बढाएको छ ।
कस्ता व्यक्ति र अवस्था भएकालाई प्राथमिकता दिने भनेर निर्धारण थालिएको बताईएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले खोप योजनाको खाँका तयार बनाउन थालेका छन् । यसमा कस्ता अवस्था भएका व्यक्तिहरुलाई प्राथमिकता दिने भनेर विशेष गरि परिभाषित गरिन थालिएको छ ।
यसमा क्यान्सर, मोटोपना र अन्य दीर्घ स्वास्थ्य समस्या भएका बिरामीहरुलाई समावेश गरिने अधिकारीहरुले बताएका छन् । मन्त्रालयले फेव्रुअरीको अन्त्यतिर स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन शुरु गर्ने योजना बनाएको छ । त्यसपछि भने दीर्घ रोग भएका मानिसहरुलाई खोप लगाइनेछ ।
मुटु र मृगौलामा समस्या भएका व्यक्ति बाहेकपनि स्वास प्रश्वासम्बन्धी रोग भएका र क्यान्सर लगायत बिरामीहरुलाई पनि प्राथमिकता दिइनेछ । यसमा अस्पतालमा भर्ती भएका वा स्लिप एप्नियाको उपचार गरिरहेका बिरामीहरु पनि समावेश छन् ।
बिरामीहरुले आफ्नो स्वास्थ्य समस्याको प्रमाणपत्र पेश गर्नु पर्ने व्यवस्था मन्त्रालयले गर्ने छैन । बिरामीहरुले खोप सम्बन्धि एक स्लिप मात्रै भर्नु पर्नेछ । बडी–मास इन्डेक्स ९बीएमआई० ३० वा सोभन्दा बढी भएका व्यक्तिहरुले पनि प्राथमिकता पाउनेछन् । प्राथमिकता राखेर खोप दिनु पर्ने मानिसको संख्या कूलमध्ये ८२ लाख हुने सरकारको अनुमान छ ।
स्वास्थ्यकर्मीपछि खोप लगाइने वृद्धवृद्धाहरुमा ६५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई राखिने भएको छ । यिनीहरुलाई आगामी आवको शुरुमा अर्थात् अप्रिलमा खोप दिइनेछ ।
खोपको आपूर्तिका आधारमा दीर्घ रोग भएका ६० देखि ६४ वर्ष बीचका व्यक्तिलाई पनि वरिष्ठ नागरिक मान्ने र खोप लगाउने विचारमा सरकार छ । सरकारले खोप योजनाको खाँका शुक्रवार विज्ञहरुको समिति समक्ष पेश गर्दैछ ।