(Japan) 27 th July | 2026 | Monday | 7:12:47 AM || (Nepal) 3:57:47 AM
 
 

टोकियोमा बिस्फोटक कोरोना संक्रमण, एकैदिन ६ सय ७८ जना थप

  POSTED ON : Wednesday, 16 December, 2020 | Views : 3370

टोकियोमा बिस्फोटक कोरोना संक्रमण, एकैदिन ६ सय ७८ जना थप


टोकियो, जापान ।

जापानमा कोरोना भाइरस संक्रमणको मुख्य थलो बन्दै आएको राजधानी टोकियोले आज संक्रमित बृद्धिको नयाँ किर्तिमान बनाएको छ ।

विस्फोटक संक्रमण देखिने क्रममा पछिल्लो २४ घण्टामा टोकियोमा ६ सय ७८ जना नयाँ कोरोनाका बिरामी थपिएको टोकियो महानगरले जनाएको छ । टोकियोमा हिजोको तुलनामा आज २ सय १८ जना धेरै कोरोना संक्रमित थपिएका छन् । हिजो टोकियोमा ४६० नयाँ संक्रमित पुष्टि भएका थिए ।

डिसेम्बर १६ तारिख मंगलबार दिउँसो ३ बजेसम्ममा पुष्टि भएको यो संख्या एकैदिन संक्रमितको अहिलेसम्मकै सर्वाधिक धेरै हो ।

कोरोना महामारी यता लगातार संक्रमितको संख्यामा बृद्धि र मत्थर हुँदै नोभेम्वर सुरुवातबाट तेस्रो चरणमा बृद्धि भएको संक्रमणमा डिसेम्बर मध्य आएर झनै तेज गतिले उकालो लाग्न थालेको छ ।

यसै महिनाको १२ तारिखमा संक्रमित बृद्धिमा ६२१ जनाको किर्तिमान बनेको थियो ।

टोकियोमा आज पुष्टि भएका सहित कोभिड-१९ भाइरसबाट संक्रमितको संख्या ४८ हजार ६ सय ६८ पुगेको छ ।

टोकियोमा कोरोना संक्रमित भएका ५ सय ५० जनाले ज्यान गुमाईसकेका छन् ।

कुल संक्रमित संख्यामा ४३ हजार जना भने निको भएर डिस्चार्ज भएको महानगरले जनाएको छ ।

हाल उपचाररत ७८ जना गम्भिर अवस्थामा पुग्दा अस्पतालमा २ हजार व्यक्ति उपचाररत रहेको महानगरले जारी गरेको विवरणमा उल्लेख छ ।