टोकियो, टोकियो ।
जापान सरकारले कोभिड–१९ जस्ता नयाँ संक्रामक रोगको उपचार सहज बनाउन र यस्ता रोग विरुद्ध खोप विकासलाई सघाउन एकीकृत डेटाबेस प्रणाली स्थापना गर्नेबारे सोचिरहेको छ । सरकारी स्रोतहरुको भनाइ उद्धृत गर्दै शनिवार माइनिचीले समाचार छापेको हो ।
यो प्रणाली नेशनल इन्ष्टिच्यूट अफ इन्फेक्शश डिजिज र नेशनल सेन्टर फर ग्लोबल हेल्थ एण्ड मेडिशिनले सञ्चालन गर्नेछ । हाल कोरोना भाइरस विरोधी उपाय अबलम्बनमा यही दुई संस्थाहरुले नेतृत्व गरिरहेको छ ।
रगतको नमूना र संक्रमित मानिसमा पाइने म्युकस लगायत जानकारीहरु नयाँ प्रणालीमा स्टोर गरेर राखिनेछ । अहिले नेशनल इन्ष्टिच्यूट अफ इन्फेक्शश डिजिजले कोरोना भाइरसको जेनेटिक सूचनाको विश्लेषण गरिरहेको छ भने नेशनल सेन्टर फर ग्लोबल हेल्थ एण्ड मेडिशिनले देशभरका ८३० अस्पताल र स्वास्थ्य संस्थाहरुबाट प्राप्त हुने डेटाका आधारमा कोभिड–१९ का गम्भीर लक्षणहरुबारे अध्ययन गरिरहेको छ ।
नयाँ प्रणाली अन्तर्गत यी दुबै काम एकै ठाँउमा गाभिनेछ । फर्मास्युटिकल कम्पनी र अनुसन्धान संस्थाहरुले पनि एउटै स्रोतबाट जानकारीहरु प्राप्त गर्न सक्नेछन् । महामारी सम्बन्धी अनुसन्धानलाई सबल बनाउन सरकारले संक्रामक रोगसम्बन्धी कानून संसोधन र अध्ययनको नतिजाहरु आम जनतालाई उपलब्ध गराउन खोजिरहेको छ । नमूनाको संकलन कसरी गर्ने र नमूना दिने दाताहरुबाट स्वीकृति कसरी हासिल गर्ने भन्ने सम्बन्धी नियम पनि तय गरिनेछ ।