(Japan) 24 th August | 2026 | Monday | 11:52:19 AM || (Nepal) 8:37:19 AM
 
 


जापानमा बिहिबार ३६ जना कोरोना बिरामीको मृत्यु, २५१८ जना संक्रमित

  POSTED ON : Friday, 04 December, 2020 | Views : 2550

जापानमा बिहिबार ३६ जना कोरोना बिरामीको मृत्यु, २५१८ जना संक्रमित


टोकियो, जापान ।

विश्वभर कोरोना संक्रमण बिरुद्धको भ्याक्सिन आम प्रयोगको चरणमा पुगेको खवरका बिच भाइरस संक्रमण गतिपनि बढ्दो छ ।

अमेरिकामा एकैदिन ३१ सय बढी व्यक्तिको कोरोना भाइरस रोगबाट निधन र किर्तिमानी संक्रमण भइरहँदा जापानमा पनि यो गति बढ्दो छ ।

डिसेम्बर ३ तारिख बिहिबार जापानमा एकैदिन कोरोना भाइरसबाट संक्रमित भएका ३६ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको संख्यापनि किर्तिमानी स्तरमा बढ्दै २,५१८ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५६ हजार ६ सय ८१ पुगेको छ ।

संक्रमणसँगै मृतकको संख्या बढेर २२ सय ७४ पुगेको तथ्यांकमा उल्लेख छ ।

बिहिबार देशभर गरेर ४७ मध्ये ४४ प्रिफेक्चरमा कोरोना भाइरसका नयाँ बिरामी भेटिएका छन् ।

हाल उपचार गराईरहेका ४९७ जनाको अवस्था गम्भिर रहेको र दैनिक गम्भिर बिरामीको संख्या देशभर बढ्दै गएको सरकारी अधिकारीहरुले बताएका छन् ।

कुल संक्रमित मध्ये हालसम्म १ लाख २९ हजार ९ सय व्यक्ति उपचार पश्चात निको भइसकेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।