टोकियो, जापान ।
दैनिक कोरोना भाइरस संक्रमणको खराब किर्तिमानी बनाउने क्रममा राजधानी टोकियोले आज यसअघि रहेका सबै किर्तिमान भंग गरेको छ ।
टोकियो महानगरले सार्वजनिक गरेको तथ्यांक अनुसार दिउँसो ३ बजेसम्ममा ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा एकैदिन कोभिड १९ भाइरस संक्रमित पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।
टोकियोमा यसअघि नोभेम्वर २१ तारिखमा ५३९ जना संक्रमित पुष्टि भएको रेकर्ड रहेको थियो ।
टोकियोमा हिजो ४८१ संक्रमित पाईएका थिए ।
नोभेम्वर २७ तारिख शुक्रबार थपिएका संक्रमित सहित टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या ३९ हजार ६ सय ४९ पुगेको छ ।
संक्रमित मध्ये बिहिबारसम्म ३४ हजार ८ सय १३ जना संक्रमित निको भईसकेको महानगरको तथ्यांकमा उल्लेख छ ।
कुल संक्रमित मध्ये ४८५ जनाको निधन हुँदा हाल उपचाररत ६० जना गम्भिर अवस्थामा रहेको महानगरले जारी गरेको विवरणमा उल्लेख छ ।