टोकियो, जापान ।
जापानमा कोरोना भाइरसको संक्रमणमा केही लापरवाही भइरहेको जापानको संक्रामक रोगसँग सम्बन्धी संगठनले गरेको एक सर्वेक्षणले देखाएको छ । जापनिज एशोसियशन फर इन्फेक्सस डिजिज र जापनिज सोसाइटी फर इन्फेक्शन प्रिभेन्शन एन्ड कन्ट्रोलले संयुक्त रुपमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।
सर्वेक्षण अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न मानिसहरुले के के गर्नु पर्छ भन्ने सम्बन्धी बुझाईमा बिसंगती पाइएको छ । सर्वेक्षणका करीब ८७ दशमलव ७ प्रतिशत सहभागीहरुले संक्रमण टार्न बारम्बार हात धुने गरेको बताएका छन् ।
त्यस्तैगरी, ८७ दशमलव ४ प्रतिशतले नियमित रुपमा मास्कको प्रयोग गर्ने गरेको अनि ६५ दशमलव ९ प्रतिशतले भने हातको निःसंक्रमण गर्ने गरेको बताए । यस नतिजाले मास्क र हातको निःसंक्रमणसँग सम्बन्धित संक्रमण विरोधी उपायहरु राम्ररी अपनाइएको देखाएको छ ।
महामारीको सम्बोधनमा कुन कदम महत्वपूर्ण छ भन्ने प्रश्नमा ६९ प्रतिशतले ‘थ्री सीज’ टार्नुको महत्व उल्लेख गरेका थिए । थ्री सीज टार्नु भन्नाले मास्क लगाएको भएपनि हावाको आवतजावत नहुने बन्द स्थानमा नबस्ने, भिडभाड धेरै भएको ठाउँमा नजाने र अरुसँग निकट सम्पर्कमा नबस्ने भन्ने हो ।
४४ प्रतिशतले मात्रै घर बाहिर घरपरिवारका सदस्य बाहिर खाना खान जाने स्थिति टार्नुलाई महत्वपूर्ण बताएका थिए । मास्क लगाउँदैमा भाइरस पूर्ण रुपमा भगाउन सकिन्छ भन्ने भनाई प्रति टोकियो विश्व विद्यालयका इन्ष्टिच्यूट अफ मेडिकल साइन्सका प्रध्यापक योसुयाङ्गी हिरोशीले चेतावनी दिएका थिए ।
आफूहरुले लापरवाही मानिएका कामहरु त गरिरहेको छैन नि भनेर मानिसहरुले आफैलाई प्रश्न गर्नु पर्नेमा उनले जोड दिएका छन् । गत महिना गरिएको यस अनलाइन सर्वेक्षणमा टोकियो महानगरमा बस्ने २० देखि ६९ वर्ष उमेरबीचका १ हजार मानिसलाई सहभागी गराइएको थियो ।