टोकियो, जापान ।
जापानमा क्यान्सर रोग पहिचान भएका बिरामीहरुको १० वर्षे सर्भाभल दर बढेको छ । सन् २००४ देखि सन् २००७ को बीचमा दर अघिल्लो सर्वेक्षणको तुलनामा १ दशमलव १ प्रतिशतले बढेर ५८ दशमलव ३ प्रतिशतमा पुगेको नेशनल क्यान्सर सेन्टर जापानले गरेको एक सर्वेक्षणमा पाइएको हो ।
सेन्टरले सन् २००० तिर डेटा संकलन गर्न थाले यता बिरामीहरुको औसत आयूमा निरन्तर वृद्धि भइरहेको सर्वेक्षणले देखाएको छ । उपचारको पहुँचयुक्ततामा भएको वृद्धिका कारण पनि सर्भाइभल दर बढेको सेन्टरको भनाइ छ ।
दरमा सुधार आउनुको पछाडि नयाँ उपचार पद्धतिको विकास नभएर सामान्य उपचार देशभर कसरी उपलब्ध हुँदै गइरहेको छ भन्नेमा निर्भर रहेको चिबा क्यान्सर सेन्टर रिसर्च इन्ष्टिच्यूटमा क्यान्सर रोकथाम केन्द्रका विभाग प्रमुख हारुओ मिकामीले भने । सर्वेक्षणमा जापानभर क्यान्सर उपचार हुने २१ अस्पतालमा पहिचान भएका क्यान्सरका ९४ बिरामी समावेश गरिएको छ । यो छैठौं सर्वेक्षण हो ।
अघिल्लो सर्वेक्षणमा भने सन् २००३ देखि सन् २००६ बीचको अवधि समावेश गरिएको थियो । क्यान्सरका प्रकार अनुसार १० वर्षे सर्भाइभल दर सर्वाधिक उच्च हुनेमा प्रोस्टेट क्यान्सर रहेको छ । यसको सर्भाइभल दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।
दोस्रो र तेस्रो सर्वाधिक सर्भाइभल दर हुनेमा स्तन क्यान्सर र थाइरोइड क्यान्सर छन् । यिनीहरुको सर्भाइभल दर क्रमशः ८६ दशमलव ८ प्रतिशत र ८५ दशमलव ७ प्रतिशत रहेको छ । सर्भाइभल दर सबैभन्दा खराब हुनेमा ६ दशमलव २ प्रतिशत सहित प्यान्क्रियटिक क्यान्सर रहेको छ । दोस्रो र तेस्रो खराब सर्भाइभल दर भने कलेजो र पित्तथैलीको क्यान्सर रहेको छ ।