(Japan) 24 th August | 2026 | Monday | 8:05:59 PM || (Nepal) 4:50:59 PM
 
 


टोकियो अपडेट ! आज ३९१ जनामा कोरोना संक्रमण-मंगलबारबाट थप बढ्ने अनुमान

Sajina Moktan   POSTED ON : Sunday, 22 November, 2020 | Views : 2874

टोकियो अपडेट ! आज ३९१ जनामा कोरोना संक्रमण-मंगलबारबाट थप बढ्ने अनुमान


टोकियो, जापान ।

लगातार तीन दिन ५ सय भन्दा माथि कोरोना संक्रमित पुष्टि भएको राजधानी टोकियोमा आज संक्रमितको संख्या केही घटेको देखिएको छ ।

संक्रमित पुष्टिको यो संख्या घटेको जस्तो देखिएपनि सार्वजनिक बिदाको समयमा गरिने कम परिक्षण तथा परिक्षण गरिएकामा पनि नतिजा सार्वजनिक गर्न ढिलाई गरिने प्रमुख कारण देखिएको छ । जसका कारण आज र भोली संक्रमण केही कम देखिएपनि टोकियोमा कोरोना संक्रमितको संख्या मंगलबारबाट थप बढ्ने देखिन्छ । जापानमा सप्ताहन्तको बिदा अन्तर्गत आज आईतबार पनि बिदा रहेको छ, भोली सोमबार पनि सार्वजनिक बिदा परेको छ । भोली जापानमा श्रम गर्नेहरुलाई धन्यवाद दिने दिनका रुपमा सार्वजनिक बिदा रहेको छ ।

नोभेम्वर २१ तारिख सर्वाधिक ५३९ कोरोना संक्रमितको रेकर्ड बनेको टोकियोमा लगातार पाचौंदिन ३ सय भन्दा माथि संक्रमित पुष्टि भएका हुन् ।

नोभेम्बर २२ तारिख आईतबार दिउँसो ३ बजेसम्ममा ३९१ जनामा कोभिड १९ भाइरस संक्रमण पोजेटिभ पाईएको महानगरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

टोकियोको तथ्यांक हेर्दा नोभेम्वर १७ तारिखपछि आज पहिलो पटक ४ सय भन्दा कम संक्रमित पुष्टि भएका छन् ।

तर टोकियोमा कोरोना संक्रमितको संख्या जापानभर पुष्टि भएक मध्ये करिव एक तिहाई रहेको छ । हालसम्म टोकियोमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३७ हजार ७ सय ८ पुगेको महानगरको तथ्यांकमा उल्लेख छ ।

यसैगरि संक्रमित मध्ये ४ सय ७८ जना कोरोनाका बिरामीको निधन भईसकेको छ । आज पुष्टि भएका बाहेक कोरोनाका कुल संक्रमित मध्ये ३३ हजार २ सय २४ जना स्वास्थ्य उपचारपछि निको भएका छन् ।

अहिले १३ सय ७५ जना अस्पतालमा उपचाररत रहेको तथा १३ सय ३५ जनामा सामान्य संक्रमण पाईएको छ ।

उपचारको क्रममा रहेका मध्ये ४० जनाको अवस्था गम्भिर रहेको टोकियो महानगरको तथ्यांकमा उल्लेख छ ।