टोकियो, जापान ।
दुई साता अघि बर्ड फ्लूका कारण करिव ४ लाख कुखुरा नष्ट गरिएको कागावा प्रिफेक्चरमा थप कुखुरा फार्महरुमा संक्रमण फैलिएको फेला परेको छ ।
प्रिफेक्चरको मितोयो शहरको कुखुरा फार्ममा कुखुरा भटाभट मर्न थालेपछि गरिएको परीक्षणमा एभियन इन्फ्लूएन्जा भाइरस बर्ड फ्लू संक्रमण एक पछि अर्को पत्ता लागेपछि लाखौं कुखुरा नष्ट गर्न थालिएको छ ।
समाचार अनुसार हाल करिव ८ लाख ५० हजार कुखुरा नष्ट गरिन लागिएको छ । संक्रमण अन्यत्र पनि फैलिएको आशंका अधिकारीहरुले गरेका छन् । संक्रमण पुष्टि भएको फार्ममा कामगर्ने कामदार अन्य फार्ममा पनि आउजाउ गर्ने भएकाले संक्रमण फैलिन पुगेको बताईएको छ ।
दुई पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको र यसअघि समेत दुई र्फाममा भेटिएको जनाउँदै अधिकारीहरुले संक्रमण फैलिएको क्षेत्र ३ किलोमिटर भित्र रहेको बताएका छन् ।
कृषि, वन र मत्स्य पालन मन्त्रालयको साथमा विशेषज्ञ र उपकरण सहित छिट्टै यस क्षेत्रको विस्तृत रूपमा छानबिन गरिने बताईएको छ ।
जापानमा सन् २०१८ पछि हालकै दिनमा देखिएको बर्ड फ्लू महामारिको रुपमा अन्यत्र पनि फैलन नदिन अधिकारीहरुले संक्रमण फैलिएको क्षेत्र आसपासका कुखुरा पालन केन्द्रहरुमा निगरानी थालेको जनाएका छन् ।
...