(Japan) 24 th August | 2026 | Monday | 8:06:43 PM || (Nepal) 4:51:43 PM
 
 


जापानमा कोरोना भाइरसको भ्याक्सिन स्टोर गर्ने फ्रिजरको अभाव देखियो

  POSTED ON : Wednesday, 18 November, 2020 | Views : 3220

जापानमा कोरोना भाइरसको भ्याक्सिन स्टोर गर्ने फ्रिजरको अभाव देखियो


टोकियो, जापान ।

कोरोना भाइरस प्रतिरोधी भ्याक्सिन निर्माण अमेरिका, रसिया, बेलायत, चिन लगायत देशमा अन्तिम चरणमा पुगिसकेको छ ।

भ्याक्सिनले ९५ प्रतिशतसम्म काम गर्ने दाबी भ्याक्सिन निर्माताहरुले गर्न थालेका छन ।

नयाँ बर्ष अघिनै भ्याक्सिन बजारमा आउने बताइरहदा जापानलाई भने भ्याक्सिन बनाउने हैन किनेर कसरी सुरक्षित राख्ने भन्ने पिरलो परेको छ ।

जापानलाई खोपलाई जोगाएर राख्ने प्रणालीको विकास गर्न हाल समस्या देखिएको छ । खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्दछ । यसरी राख्नु नै सबैभन्दा ठूलो चुनौती हुन सक्ने देखिएको छ ।

विदेशमा विकास भएका खोपलाई अनुमति मिल्न बाँकी नै छ । यी खोपहरुको व्यवस्थापन परम्परागत खोप भन्दा बेग्लै तरिकाले गर्नु पर्दछ । विश्वभर यी खोपको व्यवहारिक प्रयोगसँगै अति न्यून तापमान भएका फ्रिजरको माग पनि बढिरहेको छ । यस अघि संक्रामक रोग बढेको बेलामा अस्थायी रुपमा माग बढ्थे । तर यसरी भने कहिले पनि माग नबढेको स्वास्थ्य तथा मेडिकल उपकरण निर्माता कम्पनी पीएचसी होल्डिङ्ग्स कर्पोरेशनका कर्पोरेट अफिशर नोबुआकी नाकामुराले भने ।

मार्च देखि यूरोपको माग बढ्न थालेको छ । उत्तर अमेरिकाबाट पनि सोधपुछ बढेको छ । गत आवको तुलनामा चालु आवमा यूरोप र उत्तर अमेरिका दुबैतिर विक्री ५० प्रतिशतले बढ्ने पीएचपीको अपेक्षा छ । माग बढेसँगै कम्पनीले अगष्टयता गुन्मामा रहेको कारखानामा दुई सिफ्टमा काम भइरहेको छ । घरेलु प्रयोगका लागि पनि उत्पादन बढाउने कम्पनीको योजना छ ।

जापानभर वितरण हुँदै आएका फ्लु विरोधी खोप र अन्य खोपहरु १० डिग्री सेल्सियस वा सो भन्दा कम तापमान भएका रेफ्रिजिरेटरमा राखेर वितरण गरिन्छ । तर फाइजरले अहिले बनाइरहेको कोभिड–१९ विरोधी खोपमा भने नयाँ प्रविधि समावेश गरिएको छ । यो म्यासेन्जर आरएनए खोप हो । यसमा खोप बनाउँदा भाइरसको जेनेटिक सूचनाको केही अंश पनि प्रयोग गरिएको छ । यसलाई वितरण गर्दा माइनस ७० डिग्री सेल्सियसको तापक्रममा राख्नु पर्दछ ।

जापानले फाइजरसँग १२ करोड डोज खोपको लागि सम्झौता गरेको छ । खोपको विकास सफल भएर जापानलाई खोप डेलिभरी गर्ने बेलामा जापानसँग अभूतपूर्व स्तरमा माइनस ७० डिग्री सेल्सियसको तापक्रमका फ्रिजर हुनु पर्छ । खोप प्लेनमा आउँछ अनि स्थानीय स्तरमा वितरण गर्नु अघि यसलाई भण्डारण गरेर राखिन्छ ।

आपूर्ति निकै धेरै हुने भएकोले यसलाई माइनस ७० डिग्री सेल्सियसको तापक्रम कायम गरेर राख्नु अति नै गाह्रो काम हुनेछ । जापानका सबै स्वास्थ्य संस्थाहरुमा त्यस्तो खालको फ्रिजर नभएको अनि फ्लुको मौसममा प्रयोग हुने पद्दति यसलाई काम नलाग्ने सरकारका एक स्रोतले बताएका छन् ।

खोपलाई फ्रिजरबाट झिक्ने बित्तिकै कति छिटो त्यसको म्याद सकिन्छ भन्ने कुरालाई दृष्टिगत गरेर आम जनतालाई खोप लगाउने बारे विचार गर्नुपर्ने जापान मेडिकल एशोसियशनका कार्यकारी निर्देशक सातोशी खामायाचीले बताएका छन् ।

अमेरिकी कम्पनी मोर्डेना इंकले बनाइरहेको खोप माइनस २० डिग्री सेल्सियसमा राख्नु पर्छ अनि बेलायती कम्पनी अस्त्र जेनेकाले बनाइरहेको खोप भने फ्रिजरमा राख्नु पर्दैन । यद्यपि, यी तीनै खालको खोपलाई नमिसाइकन वितरण गर्नु पर्ने जापानको लागि अर्को चुनौती हुनेछ ।