(Japan) 25 th August | 2026 | Tuesday | 10:25:13 PM || (Nepal) 7:10:13 PM
 
 


जापानमा जाडो सुरु-एयर हिटिङ प्रयोग भन्दा न्यानो लुगा लगाउन सुझाव

  POSTED ON : Tuesday, 03 November, 2020 | Views : 4370

जापानमा जाडो सुरु-एयर हिटिङ प्रयोग भन्दा न्यानो लुगा लगाउन सुझाव


टोकियो, जापान ।

जापान सरकारले वार्षिक ‘वार्म बिज’ ऊर्जा बचत अभियान शुरु गरेको छ । जाडो याममा चिसोबाट बच्न वातावरण मैत्री उपायहरु अपनाउन मानिसहरुलाई प्रेरित गर्न सोमबारदेखि सो अभियान शुरु भएको हो ।

यो अभियान मार्चसम्म चल्नेछ । यस अन्तर्गत वातावरण मन्त्रालयले मानिसहरुलाई कोठाको तापक्रम २० डिग्री सेल्सियसमा राख्न आग्रह गर्नेछ ।

यो वर्षको मौसमी अभियान जापानी प्रधानमन्त्री योशिहिदे सुगाले हालै सन् २०५० सम्ममा खूद शूून्य कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता गरेलगत्तै शुरु भएको हो । आफ्नो पहिलो नीतिगत भाषणमा सुगाले त्यस्तो प्रतिबद्धता गरेका थिए ।

‘म मानिसहरुलाई एयर हिटिङमा भर नपर्ने गरी न्यानो लुगा लगाउन प्रेरित गर्न चाहन्छु,’ मन्त्रालयले अभियानको जिम्मा दिएका केइची किकुचीले भने । कोरोना भाइरसको प्रसार रोक्न कोठामा पर्याप्त मात्रामा हावा आवत जावत हुने ठाउ हुनुको महत्वमा समेत उनले जोड दिएका छन् ।

जापानले सन् २००५ मा विश्वव्यापी तापमान वृद्धि कम गर्न ऊर्जाको खपत कम गर्न यो अभियान शुरु गरेको थियो । अभियानले बाक्लो अनि न्यानो लुगा लगाउन, भवनहरुमा थर्मल इन्सुलेशन सामाग्रीको प्रयोग गर्न र ऊर्जा बचत गर्ने खालका होम अप्लायन्सेजहरुको प्रयोग गर्ने लगायत गतिविधि गर्न मानिसहरुलाई प्रोत्साहन गरेको छ ।

आगामी वर्षदेखि सरकारले वार्म ब्रिजका साथै कूल ब्रिज अभियानको मिति नतोक्ने गत हप्ता वातावरण मन्त्री शिन्जिरो कोइजुमीले बताएका थिए । यो जिम्मा कम्पनी र व्यक्तिहरु स्वयम्लाई दिइने उनको भनाइ छ ।