टोकियो, जापान ।
कोरोना भाइरस संक्रमितको संख्या खतराको लेभलमा बृद्धि हुने क्रममा अक्टोबर २९ तारिख महिना दिन पछिकै उच्च कोरोना संक्रमण बृद्धि भएको छ ।
बिहिबार ८ सय भन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण सकारात्मक पाईंदा जापानमा यसबाट बिरामी भएकाको संख्या एक लाख पार गरेको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार देशभर गरेर बिहिबार ८ सय ९ जना नयाँ कोरोनाका बिरामी थपिएका छन् ।
बिहिबार नै खानागावा ३, टोकियो र ओकिनावा दुई तथा ह्योगो, ओसाका र ओकायामा प्रिफेक्चरमा एक एक गरि १० जना कोरोनाका बिरामीले ज्यान गुमाएका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार जापानका घरेलु संक्रमितको संख्या ९९ हजार ८ सय ४ पुगेको छ । यस बाहेक योकोहामा डाइमण्ड प्रिन्सेस क्रुजका ७१२ कोरोना संक्रमित समेत रहेका छन् ।
कुल १००,५१६ जना कोरोना संक्रमित पुग्दा क्रुजका ६५९ र घरेलु संक्रमित ९१,३२२ सहित कुल ९१ हजार ९ सय ८१ जना निको भएर घर फर्किसकेका छन् ।
यस बाहेक हाल उपचाररत १६१ जनाको अवस्था गम्भिर रहेको छ ।
उपचारकै क्रममा हालसम्म १७ सय ६१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसमा घरेलु संक्रमित १,७४८ र योकोहामा क्रुजका १३ जना रहेका छन् ।
बिहिबार सबैभन्दा धेरै टोकियोमा २२१ जनामा कोरोना संक्रमण पाईएको छ । यसैगरि ओसाका १२५, आईचि ८७, खानागावा ७१, होक्काईदो ५३, चिबा ४३, साईतामा ३९, ओकिनावा ३२, ओकायामा ३१ गरेर कुल २९ वटा प्रिफेक्चरमा कोरोना संक्रमित पुष्टि भएका छन् ।