टोकियो, जापान ।
टोकियो विश्वविद्यालय ईन्टिच्युट अफ मेडिकल साईन्सले मास्कको प्रभावकारिता बारे अनुसन्धान गरेर नयाँ तथ्य सार्वजनिक गरेको छ ।
कोरोना भाइरस संक्रमण रोक्न दुई मध्ये एक जनाले मात्र मास्क लगाएपनी जोखिमको स्तर धेरै घट्ने अनुसन्धानले निचोड निकालेको छ ।
कुन मास्कले कस्तो प्रभावकारी भूमिका खेल्छ भन्ने बारेमा गरिएको अनुसन्धानमा कपडाको मास्क सहित सर्जिकल मास्क र एन-९५ मास्क समेतको प्रभावकारिताको अनुसन्धान गरिएको छ ।
प्राध्यापक योसिहिरो कावाओका र सह प्राध्यापक हिरोसी उएकीको समुहले टोकियो विश्वविद्यालयमा मानिसले कुरा गर्दा फाल्ने स्वासको गति बनाएर कृतिम व्यक्ति खडा गरि अनुसन्धान गरेका थिए ।
अनुसन्धानमा दुई व्यक्तिलाई एक आपसमा मुख सिधा पारेर राखी कुराकानी गर्दा स्वर र आवाजको गति समेतको आधारमा भाइरसको किटाणु फाल्ने जोखिमबारे अध्ययन गरिएको थियो ।
अनुसन्धानको नतिजामा दुई मध्ये एकजना व्यक्तिले मात्र मास्क लगाएमा कपडाको मास्कले १७ प्रतिशत तथा बजारमा पाईने सामान्य सर्जिकल मास्कले ४७ प्रतिशत कोरोना संक्रमणको जोखिम कम गर्छ ।
यसको ठाउँमा एन-९५ मेडिकल मास्क लगाएमा कोरोना संक्रमणको जोखिम ७९ प्रतिशत कम रहन्छ ।
यसकै ठाउँमा सर्जिकल मास्क वा कपडाको मास्क जुवै जनाले लगाएमा एकजना कोही संक्रमित रहेको भएपनी कोरोना संक्रमण सर्ने जोखिम ७० प्रतिशत भन्दा कम रहन्छ ।
यसमा छुटाउनै नहुने र ध्यान दिनुपर्ने कुरा मास्क प्रयोग उचित तरिकाले लगाएको भने हुनुपर्दछ ।
अर्को तर्फ अनुसन्धानबाट दुवै व्यक्तिले मास्क उचित तरिकाले लगाएको भएपनी कोरोना भाइरस संक्रमण सर्ने जोखिम नरहने भन्ने हुँदैन । अर्थात् दुई मध्ये एकजनामा कोरोना संक्रमण रहेछ तर दुवै जनाले मास्क राम्रोसँग लगाएको भएपनी संक्रमणको जोखिम रहिरहन्छ । मात्र यसमा संक्रमणको जोखिम कम हुने तर हुँदै नहुने भन्ने नहुने अनुसन्धान टोलिले बताएको छ ।
आफुहरुको अध्ययन अनुसन्धानको निचोडमा प्राध्यापक कावाओकाले भने-‘मास्कले कोरोना संक्रमण हुनै दिंदैन भन्ने कुराको पूर्ण ग्यारेन्टि कुनैपनि अवस्थामा प्रमाणित हुन सकेन । मास्कको प्रयोग राम्रोसँग गर्नु महत्वपूर्ण छ । राम्रोसँग मास्क लगाउँदा भाइरसलाई पूर्णतया रोक्दैन तर कोरोना संक्रमणको जोखिमलाई धेरै कम भने गर्छ । त्यसैले मास्क अनिवार्य र उचित प्रयोग नै कोरोना संक्रमण हुन नदिने उपाय हो ।’