टोकियो, जापान ।
दैनिक संक्रमितको घटबढ हुने क्रममा अक्टोबर २१ तारिख जापानभर संक्रमण दरमा केही बृद्धि भएको छ ।
अघिल्ला दुईदिन ३ सय कोभिड-१९ संक्रमित नाघेको जापानमा बुधवार भने संक्रमितको संख्या ६ सय नाघेको छ ।
राजधानी टोकियो सहित प्रमुख शहर रहेका प्रिफेक्चरमा संक्रमणदरमा बृद्धि देखिएको छ । विशेषगरि राजधानी टोकियो आसपासका प्रिफेक्चरमा संक्रमणदर क्लस्टरको रुपमा बृद्धि भएको पाईएको छ ।
बुधवार ६ सय १२ जना नयाँ संक्रमित पुष्टि हुँदा टोकियो १५०, खानागावा ८८, ओसाका ८२, साईतामा ५०, चिबा ४९, ओकिनावा ३७, आईची ३६ र होक्काईदोमा २२ जनामा कोभिड १९ पोजेटिभ पाईएको छ ।
समग्रमा ४७ मध्ये ३१ प्रिफेक्चरमा संक्रमण पाईएको छ भने एयरपोर्ट क्वारिन्टिनमा ५ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
बुधवार रात १०:४५ बजेसम्मको तथ्यांक अनुसार जापानमा घरेलु कोरोना भाइरस संक्रमितको संख्या ९४ हजार ६ सय २६ पुगेको छ । यस बाहेक योकोहामा क्रुजका ७१२ जना संक्रमित रहेका छन् ।
बुधवारनै जापानमा कोरोना संक्रमित भएका ७ जना बिरामीले ज्यान गुमाएका छन् । यो सहित घरेलु कोरोना संक्रमित मृतकको संख्या १६ सय ८७ पुगेको छ । क्रुजका १३ संक्रमित सहित मृतकको कुल संख्या १७ सय पुगेको छ ।
हाल उपचाररत गम्भिर बिरामीको संख्या १ सय ५० पुगेको छ । स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार योकोहामा क्रुजका ६ सय ५९ र घरेलु संक्रमित ८७ हजार १ सय ७ जना सहित कुल ८७ हजार ७ सय ६६ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।