टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालय अन्तर्गतको विशेषज्ञ प्यानलले प्रमुख जापानी फार्मास्युटिकल फर्म दाइची सान्क्योले विकास गरेको कोरोना भाइरस खोपको प्रयोगलाई अनुमोदन गरेको छ ।
मन्त्रालयले प्रक्रिया पूरा गरेपछि स्वदेशी कम्पनीले विकास गरेको यो पहिलो औपचारिक रूपमा अधिकृत कोभिड-१९ खोप हुनेछ ।
विज्ञहरूले यसको प्रभावकारिता र सुरक्षाको पुष्टि गरेको भन्दै प्यानलले सोमबार खोपलाई अनुमोदन गरेको हो ।
जापानले फाइजर र मोडेर्ना जस्ता विदेशी कम्पनीहरूद्वारा विकसित भ्याक्सिनहरू प्रयोग गर्दै आएको छ । जापानमा हालसम्म कुनै पनि स्वदेशी रूपमा विकसित कोभिड खोप छैन ।
जनवरीमा, दाइइची सान्क्योले आफ्नो म्यासेन्जर आरएनए खोपको स्वीकृतिको लागि मन्त्रालयमा निवेदन दायर गरेको थियो । फाइजर र मोडर्ना दुवैले विकास गरेको जस्तै प्रकारको खोप रहेको सान्क्यो कम्पनीले जनाएको छ ।
जापानमै बनेको दाइइची सान्क्योको भ्याक्सिन हाल विकसित भएको भाइरसनको नयाँ प्रकारलाई लक्षित गरेर बनाएको नभई भाइरसको मूल स्ट्रेनलाई लक्षित गर्ने बताइएको छ । यो कृत्रिम रूपमा उत्पादित आरएनएको मार्फत मानव शरीर मा स्पाइक प्रोटिनको भाग सिर्जना गरेर प्रतिरक्षा बृद्धि गर्न डिजाइन गरिएको खोप हो ।
सोमबारको बैठकमा, प्यानलले अर्को जापानी औषधि कम्पनी शिओनोगीले विकास गरेको कोरोना भाइरस खोपको बारेमा पनि छलफल गरेको छ । तर विज्ञहरूले यसबारे आफ्नो छलफल जारी राख्ने निर्णय गर्दै स्विकृती भने जनाएको छैन ।