टोकियो, जापान ।
थाइल्यान्डले दर्जनौँ देश तथा क्षेत्रका नागरिकलाई दिँदै आएको भिसा–फ्री बसाइको अवधि ६० दिनबाट घटाएर ३० दिनमा सीमित गर्ने घोषणा गरेको छ । नयाँ व्यवस्था सेप्टेम्बर १५, २०२६ देखि लागू हुने भएको हो ।
थाइल्यान्डले कोरोना महामारीपछि पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन सन् २०२४ देखि ६० दिनसम्म भिसा नलिई बस्न पाउने व्यवस्था लागू गरेको थियो । यो सुविधा ६० देश तथा क्षेत्रका नागरिकलाई दिइँदै आएको थियो ।
तर लामो समयको भिसा–फ्री सुविधाको दुरुपयोग गर्दै केही विदेशीले अवैध गतिविधिमा संलग्न हुने तथा पटक–पटक देश छाडेर पुनः प्रवेश गरी बसाइ लम्ब्याउने गरेको भन्दै सरकारले नियम कडा बनाउन लागेको जनाएको छ ।
नयाँ नियम अनुसार भिसा–फ्री प्रवेश मार्फत थाइल्यान्डमा बस्न पाउने अवधि अधिकतम ३० दिन हुनेछ । साथै, स्थलमार्गबाट थाइल्यान्ड प्रवेश गर्ने विदेशीको संख्या वर्षमा दुई पटकसम्म सीमित गरिनेछ । यद्यपि, केही छिमेकी देशका नागरिकलाई भने यो सीमा लागू नहुने जनाइएको छ ।
थाइल्यान्ड सरकारले नयाँ व्यवस्थाले भिसा–फ्री सुविधाको दुरुपयोग रोक्नुका साथै विदेशी नागरिकको गैरकानुनी गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।