(Japan) 27 th June | 2026 | Saturday | 5:32:38 PM || (Nepal) 2:17:38 PM
 
 

ज्यानमारा भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

  POSTED ON : Saturday, 14 January, 2023 | Views : 2364

ज्यानमारा भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी


काठमाडौँ, नेपाल । 

बालबालिकाको ज्यान लिने भारतीय कफ सिरप प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भेटिएको भन्दै प्रयोग नगर्न सचेत गराएको हो । 

उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना यस कफ सिरपसँग जोडिएको भन्दै कफ सिरप प्रयोग नगर्न भनिएको हो । उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालाले यी दुई कफ सिरपमा अस्वीकार्य मात्रामा ‘डाइथिलिन ग्लाइकोल र ‘इथिलीन ग्लाइकोल’ फेला पारेको बताएको छ । यी पदार्थ मानिसका लागि विषाक्त हुन्छन् र यदि सेवन गरेमा घातक हुन सक्छ ।

उज्वेकिस्तानमा सिरपको कारण मृत्यु भएपछि उक्त कम्पनीलाई खाद्य सुरक्षा विभागले उत्पादन लाइसेन्स खारेज गरिसकेको छ । यी सिरपहरू बालबालिकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको बताइएको छ । यसअघि भारतमै निर्मित ४ कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ ।

डब्लूएचओले यी दुवै उत्पादनहरू अन्य देशहरूमा पनि मार्केटिङ स्वीकृति पाएका हुन सक्छन् र अनौपचारिक बजारहरूमार्फत, अन्य देश वा क्षेत्रहरूमा वितरण गरिएको हुन सक्ने बताएको छ ।

कम्पनीले कफ सिरपकै कारण मृत्यु भएको भनी लगाइएको आरोप अस्वीकार गरेको छ । कम्पनी भन्छ–‘डक–१ म्याक्स कफ सिरपको प्रत्येक १०० एमएलका२० हजार बोतलहरू उज्वेकिस्तानको सम्पूर्ण भूगोलमा आपूर्ति गरिएको थियो तर मृत्यु एउटा भौगोलिक क्षेत्रमा मात्र रिपोर्ट भएको छ।’ उसले मृत्यु अरु कारणले हुन सक्ने भन्दै सिरपमा दोष लगाउन नहुने भनेको छ ।