एजेन्सी ।
अल्जाइमर्सका कारण मस्तिष्कमा पुग्ने क्षति कम गर्न बनेको पहिलो औषधिमा महत्त्वपूर्ण सफलता मिलेको वैज्ञानिकहरुले बताएका छन् ।
दशकौँको असफलतापछि अल्जाइमर्स उपचारका लागि यो औषधिको सफलतालाई एउटा नयाँ युगका रूपमा व्याख्या गरिएको छ ।
अझै पनि लिकानेमब नामक औषधिको असर थोरै छ र मानिसको दैनिक जीवनमा यसको प्रभावबारे विवादहरू छन् ।
रोगको सुरुवाती चरणहरूमा औषधिले काम गर्ने भएकोले धेरैले रोग पहिचान गर्न नसक्दा यसको प्रयोग गुमाउन सक्छन् ।
लिकानेमबले बिटा एमालोइड भनिने चिप्लो खालको पदार्थमाथि हमला गर्छ जुन अल्जाइमर्स भएका व्यक्तिको मस्तिष्कमा थुप्रिएको हुन्छ ।
विगतमा अनुसन्धानहरू व्यर्थ र निराशाजनक रहेका बेला यी परीक्षणकालीन परिणामहरूलाई केहीले सफलता दिने महत्त्वपूर्ण विन्दुका रुपमा हेरेका छन् ।
अल्जाइमर्स रिसर्च यूकेले यसलाई 'महत्त्वपूर्ण' भनेको छ।
विश्वका एक अग्रणी अनुसन्धानकर्ता प्राध्यापक जोन हार्डीले यसलाई 'ऐतिहासिक' भनेका छन् र अलजाइमर्सको उपचारको सुरुवाती चरणका रूपमा आफू आशावादी बनेको बताएका छन् ।
उनले ३० वर्षअघि एमालोइड पदार्थलाई केन्द्रित गरेर अनुसन्धान थालेका थिए ।
युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक तारा स्पाइर्स-जोन्सले 'लामो समयसम्म हामी शतप्रतिशत विफल भएकाले यो ठूलो उपलब्धि' भएको बताएकी छन् ।
अहिले अल्जाइमर्स हुने बिरामीहरूलाई उनीहरूको लक्षण अनुसार अन्य औषधिहरू दिने गरिएको छ तर कुनैले पनि रोगको उपचारमा मद्दत गरेको छैन ।
लिकानेमब पनि एउटा एन्टीबडी हो जसले भाइरस वा ब्याक्टेरियामाथि आक्रमण गर्छ ताकि मस्तिष्कबाट एमिलोइड हटाउन प्रतिरक्षा प्रणालीलाई निर्देशन दिन्छ ।
एमिलोइड एक किसिमको प्रोटिन हो जो मस्तिष्कको न्यूरोन्सहरूबिचको ठाउँमा जम्मा हुन्छ र फरक खालको मार्ग बनाउँछ जुन अल्जाइमर्सको एउटा कारक हो ।
यो ठूलो स्तरको परीक्षणमा अल्जाइमर्स प्रारम्भिक चरणमा भएका १,७९५ स्वयंसेवीहरू सामेल थिए ।
प्रत्येक १५ दिनमा उनीहरूलाई लिकानेमब दिइन्थ्यो ।
सान फ्रान्सिस्कोमा भएको अल्जाइमर्सका बिरामीमाथिको क्लिनिकल परीक्षणसम्बन्धी सम्मेलनमा त्यस्तो परीक्षणबाट आएको परिणाम प्रस्तुत गरिएको थियो ।
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित उक्त परिणामलाई कुनै चामत्कारिक उपचार नभएको उल्लेख छ ।
१८ महिनाको अवधिमा गरिएको परीक्षणमा अल्जाइमर्सका बिरामीमा औषधिका कारण रोगले पुर्याउने क्षति करिब १ चौथाइले सुस्त भएको देखिएको छ ।
बृहत् प्रयोगका लागि लिकानेमबलाई स्वीकृत गर्ने वा नगर्ने भनेर अमेरिकी नियामकहरूले छिट्टै निर्णय गर्नेछन् ।
उक्त औषधि विकास गर्ने औषधि कम्पनी एइजाइ एन्ड बायोजेनले अन्य देशहरूमा स्वीकृतिका लागि अर्को वर्षबाट प्रक्रिया थाल्ने योजना गरेको छ ।
मस्तिष्कमा धेरै क्षति पुगिसक्नुभन्दा अगाडि नै बिरामीलाई सुरुवाती चरणमै औषधि दिइनुपर्छ तर धेरैजसो मानिसहरू ढिला भइसक्दामात्रै उपचारमा पुग्छन् ।
मानिसमा अल्जाइमर्स हो वा डिमेन्सियाको अर्को प्रकार हो भनेर पत्ता लगाउन सुरुवाती चरणमै एमिलोइड परीक्षण गर्नुपर्छ ।
अहिले भने डिमेन्सिया भएका १ देखि २ प्रतिशतलेमात्रै परीक्षण गराउँछन् ।