टोकियो, जापान ।
जापानले अष्ट्राजेनेका कोरोना भाइरस बिरुद्धको खोपको लगभग १ करोड ३५ लाख डोज फिर्ता गरेको छ । बेलायती औषधि कम्पनीले आपूर्ति गरेको बाँकी सबै खोपहरुको म्याद सकिएको स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर ३० मा घोषणा गरेको छ ।
जापानले आधिकारिक रूपमा एस्ट्राजेनेका खोपको प्रयोग अन्त्य गर्न लागेको बताइएको छ ।
जापान सरकारले सन् २०२० को डिसेम्बरमा अस्ट्राजेनेकाबाट १२ करोड कोरोना भ्याक्सिनको खोप किन्न सहमत गरेको थियो । स्वास्थ्य मन्त्रालय लगायत स्रोतका अनुसार स्थानीय तहमा २ लाख डोज मात्रै पठाइएको छ भने १ लाख २० हजार डोज व्यवस्थापन गरिएको छ ।
जापानले ६६ करोड २० लाख बढि डोजको सम्झौता रद्द गरिसकेको छ, र पहिले नै आपुर्ति गरिएका खोप मध्ये, अन्य देशहरूलाई करिब ४ करोड ४० लाख डोज निःशुल्क दिएको छ । बाँकी खोप फ्याँकिएको छ ।
औषधि निर्मातासँग भएको गोपनियता सम्झौताका आधारमा सरकारले खरिद मूल्य वा रद्द गरिएको खुराकको कति रकम फिर्ता गर्ने भन्ने खुलाएको छैन ।
अस्ट्राजेनेका भ्याक्सिन कुनै समय व्यावहारिक प्रयोगको लागि विश्वको अग्रपंक्तिमा थियो, तर जापान बाहिर, साइड इफेक्टको रूपमा रगत जम्ने छिटफुट घटनाहरू भएको पाइएको थियो । जापानमा अष्ट्राजेनेका खोप वितरण सुस्त थियो, किनकि सरकारले अष्ट्राजेनेका खोप विशेषगरि ४० वर्ष वा माथिका मानिसहरूलाई सीमित गरेको थियो ।