जापान ।
केहि वर्ष यता जापानमा कम उमेरका जवान नेपालीहरुलाई हृदयघातको कारण मृत्यु भएको समाचार आइरहेको छ । बच्चा र वृद्धलाइ बेसी हुने गर्मीका कारण निम्तिने स्वास्थ्य समस्याहरु समेत भर्खरका जवान समुदायलार्इ पनि उत्तिकै जोखिम हुन्छ भन्ने सुचनाको ध्यानाकर्षण गराउनु पर्ने देखिएको छ ।
जवान छौं केहि हुँदैन भन्ने भ्रम बाट युवाहरु मुक्त हुन जरुरी छ । एक्कासी मौसम बदलिंदा गर्मी महिनाको सुरुका दिनहरुमा धेरै गर्मी हुन्छ । टन्टलापुर घाममा धेरै खटिनु पर्ने काम वा त्यस्तो समयमा पसिना खल खल आउने गरि व्यायाम गर्ने, दौडिने लक्का जवान खेलाडीहरुमा पनि गर्मीका कारण शरीरले खेप्न नसक्दा स्वास्थ्य समस्या देखिने हुन्छ ।
केहि दिनअघि टोकियोमा भएको कार्यक्रममा हामी नेपालीमा पहिलो स्वास्थ्य समस्याको जड स्वास्थ्य सचेतनाको कमि देखियो । यिनै स्वास्थ्य सचेतनाको कमीलाई मध्यनजर गर्दै जापानमा रहनुहुने नेपालीहरुलाई गर्मीको समयमा उपयोगी हुने स्वास्थ्य जानकारी यहाँ समेटिएको छ ।
गर्मीका कारण हुने समस्या र त्यसलाई बुझ्न सकिए अकस्मात हुने हृदयघात, अचेत अवस्था र अकालमा हुने मृत्युबाट जोगिन सकिन्छ ।
एक्कासी गर्मी बेसी भएर धेरै पसिना आइराखे पश्चात पहिले मांशपेसी हरूमा ऐंठन (muscle spasm) हुनसक्छ । यस्तो हुनुको कारण मांशपेसीलाई काम गर्न चाहिने नुन पसिना सँगै शरीरबाट बाहिरिनुले हो । पसिना बनाउने ग्रन्थीले पनि रगतबाट पानी र नुन लिने गर्छ र धेरै पसिना आएमा मानिसलाई निर्जलिकरण (dehydration) को समस्या देखा पर्छ । यस्तो बेला पानी प्रशस्त पिउने गर्नुपर्छ, जिवनजल जस्तो rehydration solution लिनुपर्छ । जापानमा पोकारी स्वेट (pocari sweat) स्पोटर्स ड्रिंक्स (sports drink) जस्ता पेय पदार्थहरु यस्तै समयमा पिउनु उपयुक्त हुन्छ । यो भन्दा अलि बेसि खतरा गर्मीले गराउने थकान heat exhaustion ले गर्दा हुन्छ ।
यसका लक्षणहरूमा
- शरीरको तापक्रम बेसी हुनु, ज्वरो आउनु
- टाउको दुख्नु, चक्कर लाग्नु
- अत्यधिक पसिना आउनु, छाला सुख्खा हुनु, र तिर्खा धेरै लाग्नु
- कमजोरी भएको महसुस हुनु, श्वास प्रश्वास धेरै भएको जस्तो, मुटुको चाल छिटो भएको जस्तो महसुस हुनु
- बच्चाहरू निन्याउरो देखिनु, कमजोर, निद्रा मात्र बेसि लाग्नु आदि
यस्तो अवस्थामा आधा घण्टा भित्रमा निम्न कुरा गरौं
- चिसो ठाउँमा जाने
- पल्टिएर वा सुतेर खुट्टा थोह्रै माथि राख्ने
- प्रशस्त पानी पिउने वा पोकारी, स्पोर्टस् ड्रिंक्स जस्ता रिहाइड्रेसन पेय पदार्थ पिउने
- चिसो पानीले नुहाउने वा चिसो पानिको ओफुरोमा बस्ने र शरीरलाई सकेसम्म चिसो बनाउन चिसो पानीले छम्किने, पानी पट्टी गर्ने, काखी र घाँटीतिर cold sponging गर्ने प्रयत्न गर्नुपर्छ ।
यस्तो गरिएन भने उच्च गर्मी तापक्रमका कारण कारण अचेत वा पक्षघात, हृदयघात हुन सक्छ । यो घातक हुन्छ र यसका लक्षण बुझिएन र अस्पतालमा समयमा पुर्याउन सकिएन भने अकालमा मृत्युवरण गर्नु पर्ने अवस्था सृजना हुन्छ ।
आधा घण्टा चिसो ठाउँमा आराम गर्दा पनि स्वास्थ्य अस्वस्था कमजोर र आफुलाई थकित महसुस हुने अर्थात् निम्न अवस्थामा
- १०४ फरेनहाइट डिग्री वा ४० सेल्सियस डिग्रीभन्दा बेसी जोरो आउने
- तातो महसुस हुँदा पनि पसिना आउन बन्द हुने, नआउने
- श्वास प्रश्वासको दर बढ्दै जाने
- अर्ध चेत वा छिनछिनमा बेहोस भएको जस्तो हुन थाल्ने
- अन्तिममा बेहोस हुने
यस्तो बेला बिरामीलाई भर्ना गरेर केही दिन उपचार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा जतिसक्दो छिटो नजिकको अस्पताल लैजाने ।
ऐम्बुलेन्स आउनु अघि सकेसम्म चिसो पानिमा शरीर डुबाउने, बरफहरु घांटी, काखी, जांघ तिर राखेर माड्दै रगत नलीहरु चिस्याउन सहयोग पुग्ने गरि बरफहरु प्रयोग गर्नु पर्छ । बरफ छैन भने चिसो पानिले छम्किने, भित्रि शरीरको तापक्रम घटाउन सके अस्पताल पुग्नु अघि हुनसक्ने दुखद घटनाबाट जोगाउन सकिन्छ ।
बालबालिका, वृद्ध र दिर्घ रोग जस्तै मधुमेह, मुटुरोग भएकाहरूले विशेष ख्याल गर्नुपर्छ ।
अत्यधिक गर्मी हुँदा गाडा रंगको पहिरन नलगाउने, हल्का रंगका खुकुलो लुगा लगाउने, व्यायाम गर्नेले पसिना धेरै आउँदा पोकारी जस्ता जीवन जल पानी पिउने, चिसो पानीमा स्नान लिने, दिउँसोको चर्को घाम बाट बच्ने, बेला बेलामा छालामा चिसो पानी वा स्प्रे छर्किने, धेरै रक्सी सेवन नगर्ने । यस्ता उपायहरु पालना गरेमा गर्मीले निम्त्याउने स्वास्थ्य समस्याबाट जोगिन मद्दत मिल्दछ ।
जापानमा रहनुभएका सबैले यस्ता स्वास्थ्य जनचेतनाका सामाग्रीहरू आफू बुझौं, अरूमा पनि पुर्याएर बुझ्न सहयोग गरौं र बुझाऔं ।