(Japan) 3 rd July | 2022 | Sunday | 5:56:09 AM || (Nepal) 2:41:09 AM
 
 

जापानमा प्रोस्टेट क्यान्सरका बिरामी संगै मृत्‍यु हुनेको संख्या पनि बढ्यो

  POSTED ON : Wednesday, 15 June, 2022 | Views : 7328

जापानमा प्रोस्टेट क्यान्सरका बिरामी संगै मृत्‍यु हुनेको संख्या पनि बढ्यो


टोकियो, जापान ।

जापानमा प्रोस्टेट क्यान्सरका बिरामीको संख्यामा तीव्र वृद्धि भएको छ । गएको १० वर्षमा यस्ता बिरामीको संख्या १ दशमशलव ८ गुणाले बढेको छ ।

जापानमा वृृद्ध जनसंख्या बढिरहेकोले क्यान्सरको पहिचान हुनेको संख्यामा बढोत्तरी भएको हो । यस्तोमा विशेषगरी प्रोस्टेट क्यान्सरका बिरामी पनि बढेका छन् ।

धेरै जसो बिरामीमा समस्या जटिल नभएकोले अत्यधिक उपचारले व्यक्तिको जीवन स्तरमा नै प्रतिकूल असर गर्ने हो कि भन्ने चिन्ता एकातिर छ भने अर्कातिर कयौं बिरामी र तिनका परिवारलाई कस्तो खालको उपचार पद्दति अपनाउने भनेर निर्णय गर्न पनि कठिन भइरहेको छ ।

नेशनल क्यान्सर सेन्टर जापानको क्यान्सर सूचना सेवाले सार्वजनिक गरेको पछिल्लो क्यान्सरसम्बन्धी तथ्यांकअनुसार सन् २०१८ मा जापानमा ९२ हजार २१ जनामा प्रोस्टेट क्यान्सर पहिचान भएको छ ।

सन् २००८ मा संख्याका आधारमा प्रोस्टेट क्यान्सरका बिरामी जापानभर चौथो स्थानमा थिए । उक्त वर्ष जापानमा ५१ हजार ५३४ जना प्रोस्टेट क्यान्सरका बिरामी थपिएका थिए ।

तर सन् २०१७ र सन् २०१८ मा प्रोस्टेट क्यान्सरको पहिचान हुने बिरामीको संख्याले ग्याष्ट्रिक र अन्य खालको क्यान्सरलाई उछिनेको छ । वृद्ध जनसंख्यामा भएको वृद्धि र खानपानमा आएको परिवर्तनका कारण पछिल्लो समय जापानमा प्रोस्टेट क्यान्सरको बिरामी बढेको बताइएको छ ।

सरकारको तथ्यांक हेर्ने हो भने प्रोस्टेट क्यान्सरका कारण मर्नेको संख्या बढिरहेको छ । सन् २०२० मा यो क्यान्सरका कारण १२ हजार ७५९ जनाको मृत्यु भएको छ । यो १० वर्ष अघिको तुलनामा १ दशमलव २ गुणा धेरै हो ।