(Japan) 29 th March | 2024 | Friday | 1:41:45 PM || (Nepal) 10:26:45 AM
 
 


जापानमा छिट्टै चिकित्सकले अस्पताल नगई रोबोटको सहायताले अप्रेसन गर्नसक्ने

  POSTED ON : Tuesday, 24 May, 2022 | Views : 2026

जापानमा छिट्टै चिकित्सकले अस्पताल नगई रोबोटको सहायताले अप्रेसन गर्नसक्ने


फुकुओका, जापान ।

जापानमा टेलिसर्जरी व्यवहारिक रुपमै प्रयोगमा आउने सम्भावना बढेर गएको छ । उन्नत दूरसञ्चार प्रविधिमा थप विकास भएसँगै टाढै बसेर पनि सर्जिकल रोबोट चलाउनु सुरक्षित बन्दै गएको छ । थोरै मात्रै शल्य चिकित्सक भएका क्षेत्रमा समेत यो प्रविधिको माध्यमबाट शल्यक्रिया गर्न सकिने भएकोले यो विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दाका लागि आशाजनक देखिएको छ ।

यद्यपि, बिरामीको सुरक्षा सुनिश्चियको सवाल भने बाँकी नै छ । जापान सर्जिकल समाजले यस वर्षको अन्त्यसम्ममा टेलिसर्जरी सम्बन्धी निर्देशिका सार्वजनिक गर्ने लक्ष्य लिएको छ । मार्चमा क्युशु विश्वविद्यालयले फुकुओका नगरस्थित एउटा सम्बद्ध अस्पताललाई करीब सय किमि पर ओइता प्रिफेक्चरको बेप्पुमा रहेको अर्को सम्बद्ध अस्पताललाई जोडेर एउटा टेलिसर्जरी गरेको थियो । यस क्रममा फुकुओकामा रहेका एक शल्य चिकित्सकले करीब एक घन्टा लगाएर ओपरेशन गर्ने रोबोटलाई चलाएर एउटा जनावरको शल्य क्रिया गरेका थिए ।

सो शल्यक्रिया गर्दा आफूलाई टाढा छुँ जस्तो महसुस नभएको र शल्यक्रिया राम्ररी भएको क्युशु विश्वविद्यालयका एशोसियट प्राध्यापक जुनिची इनोकुचीले बताएका थिए । गएको वर्ष क्युशु विश्वविद्यालयले होक्काइदो विश्वविद्यालय र साप्पोरो मेडिकल विश्वविद्यालयलाई मेडिकल रोबोटको माध्यमबाट जोडेर टेलिसर्जरीको परीक्षण गरेको थियो ।

आओमोरी प्रिफेक्चरको हिरोसाकी विश्वविद्यालय पनि यस्तै खालको टेलीसर्जरीमा आबद्ध भएको थियो । सन् २०१९ मा स्वास्थ्य मन्त्रालयले अनलाइन मेडिकल केयरसम्बन्धी निर्देशिकामा संसोधन गरेयता नै विश्वविद्यालयहरुले टेलिसर्जरी सम्बन्धी अनुसन्धानमा केन्द्रीत हुन थालेका छन् ।