टोकियो, जापान ।
चौथो हप्तामा नेपालभर भव्य रुपमा प्रदर्शन भइरहेको पल शाह अभिनित नेपाली चलचित्र मोहर’ जापानको राजधानी टोकियो सहित दुई दर्जन शहरहरुमा प्रदर्शन हुने भएको छ ।
देउकी प्रथामा आधारित सामाजिक कथावस्तु समेटिएको चलचित्र मोहर राजधानी टोकियोमा सेप्टेम्बर २ तारिख (मंगलबार) प्रदर्शन हुँदैछ । टोकियोको नाकानो जेरो हलमा मंगलबार साँझ ६ बजे प्रदर्शन हुन लागेको मोहर चलचित्र जापानका डेढ दर्शज शहरमा प्रदर्शन तय भइसकेको र थप आधा दर्जन शहरमा प्रदर्शन कुरा भइरहेको ओम शान्ति ईन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
चलचित्र मोहर सेप्टेम्बर ६ मा फुकुओकामा प्रदर्शन तय भएको छ भने ओसाका, नागोया, ओकिनावा लगायतका जापानभरका मूख्य शहरहरुमा चलचित्रको प्रदर्शन हुने भएको छ ।
जापानभरका शोहरूका लागि टिकट तथा अन्य जानकारीका लागि इच्छुक दर्शकले आयोजक समितिका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्नेछन् । टोकियो शोका लागि 080 3406 5636 (ईश्वर श्रेष्ठ), 080 4473 6183 (बसन्त थापा) र 070-3249-8464 (शाही वीरेन्द्र) मा सम्पर्क गर्न सकिनेछ ।
नेपालमा प्रदर्शनमा आएदेखि नै ‘मोहर’ ले दर्शक र समीक्षक दुवैको मन जित्न सफल भएको छ । प्रदर्शनको पहिलो हप्तामै लगानी सुरक्षित गरेको फिल्मले चौथो हप्तामा चलिरहँदा ५ करोड ४२ लाख ग्रस कलेक्सन गरिसकेको छ ।
देउकी प्रथाविरुद्धको मार्मिक कथा
फिल्म ‘मोहर’ को कथा पश्चिमी नेपालको एउटा गाउँबाट सुरु हुन्छ, जहाँ सरकार चन्द (अर्जुन जङ्ग शाही) नामक एक शक्तिशाली र क्रूर व्यक्तिको दबदबा छ । यसै गाउँमा प्रहरी इन्स्पेक्टर सिवल (पल शाह) र सिन्दुरी (नीति शाह) बीच प्रेम मौलाउँछ । तर, सिवल तालिमका लागि काठमाडौं गएको मौका पारेर सरकारकी आमा महारानी (लक्ष्मी गिरी) ले सिन्दुरीको बुबालाई पैसाको लोभ देखाई सिन्दुरीको विवाह सरकारसँग गराइदिन्छिन् ।
कथाले तब थप नाटकीय मोड लिन्छ जब महारानीको भाकलअनुसार, छोरा जन्मिए राज गर्नेछ र छोरी जन्मिए देउकी बनाएर मन्दिरमा चढाइनेछ भनिन्छ। दुर्भाग्यवश, सिन्दुरीले छोरी जन्माउँछिन् । अब सिवल गाउँ फर्किएर यो अन्यायको अन्त्य गर्न सक्लान्? के ती नाबालक छोरी देउकी बन्नबाट जोगिएलिन्? यही प्रश्नहरूको वरिपरि फिल्मको मार्मिक कथा घुमेको छ । देउकी प्रथाजस्तो संवेदनशील र गम्भीर सामाजिक विषयलाई कथाको केन्द्रमा राख्नु फिल्मको सबैभन्दा साहसिक र सबल पक्ष मानिएको छ ।
‘मोहर’ मा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको अभिनय फिल्मको मेरुदण्डको रूपमा रहेको छ । उनको महारानीको भूमिकाले दर्शकमा गहिरो छाप छोड्छ। पल शाह र अर्जुनजंग शाहीले पनि आफ्नो भूमिकालाई न्याय दिने प्रयास गरेका छन् । फिल्मको सिनेमाटोग्राफीमा गरिएको मिहिनेत प्रस्ट देखिन्छ, जसले दृश्यहरूलाई अझ प्रभावशाली बनाएको छ । फिल्ममा प्रयोग गरिएको उत्कृष्ट भाषा/शैली र भावनात्मक दृश्यहरूले दर्शकको मन छुन्छ ।
नेपाली रजतपटमा यतिबेला चर्चाको शिखरमा रहेको र बक्सअफिसमा धमाकेदार व्यापार गरिरहेको चलचित्र ‘मोहर’ अब जापानका दर्शकमाझ आउने भएको छ । सामाजिक कथावस्तुमा आधारित यो सशक्त फिल्म सेप्टेम्बर २ तारिख (मंगलबार) बाट टोकियोमा भव्य प्रदर्शनका साथ जापान यात्राको सुरुवात गर्नेछ ।
जापानभरका शोहरूका लागि टिकट तथा अन्य जानकारीका लागि इच्छुक दर्शकले आयोजक समितिका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्नेछन् । टोकियो शोका लागि 080 3406 5636 (ईश्वर श्रेष्ठ), 080 4473 6183 (बसन्त थापा) र 070-3249-8464 (शाही वीरेन्द्र) मा सम्पर्क गर्न सकिनेछ ।