टोकियो, जापान ।
यस बर्षकै बहुचर्चित नेपाली कथानक चलचित्रको रुपमा हेरिएको ‘बलिदान’ जापानको राजधानी टोकियो सहित २० शहरमा प्रदर्शन हुने भएको छ । टोकियोको ईकेबुकुरोमा रहेको जापानी चलचित्र घर ह्युम्याक्स सिनेम्याक्समा चलचित्र बलिदानलाई टोक्यो ड्रिम्स ईन्टरटेनमेन्टले प्रदर्शन गर्ने भएको हो ।
जापानमा नेपाली चलचित्रको बजारीकरण सहित प्रदर्शन र विस्तारमा सक्रिय टोकियो ड्रिम्स ईन्टरटेनमेन्टले टोकियोमा बडा दशैंको दुई दिनपछि चलचित्र प्रदर्शन गर्ने भएको हो । बलिदान चलचित्र नेपालमा भने फुलपातिको दिनबाट प्रशर्दनमा आउने बताइएको छ ।
नेपालमा प्रदर्शन मितिबाट बडा दशैंको समयमा जापानमा कार्यालय दिन परेका कारण अक्टोबर ५ का लागि चलचित्र प्रदर्शन मिति तय गरिएको टोकियो ड्रिम्स ईन्टरटेनमेन्टकी अन्जु श्रेष्ठले जानकारी दिनुभयो । यसको लागि अग्रिम टिकट बुकिगं समेत खुला गरिएको आयोजकले जनाएको छ ।
जापानको लागि चलचित्रको अधिकार भने सेभेन सामूराई इन्टरनेशनल कम्पनीले ले लिएको छ । चलचित्र बलिदान टोकियो सहित जापानको दुई दर्जन शहरहरुमा प्रदर्शन हुने तय भएको र अन्य स्थानमा तय हुन बाँकी रहेको सेभेन सामुराईका प्रमुख रेशम डंगोलले जानकारी दिएका छन् ।
सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’ नयाँ युवा पुस्ताका लोकप्रिय अभिनेता समीर भट्टको अभिनय रहेको छ ।
समीर डेब्यु फिल्म ‘१२ गाउँ’ले व्यावसायिक सफलता हासिल गरेसँगै उनी लोकप्रिय छन् भने उनको यो करिअरकै दोस्रो फिल्म हो । समिरलाई चलचित्रको पोस्टरमा एक्सन अवतारमा उतारिएको छ ।
नेपालमा सफल निर्देशकमा गनिने सेन आफूले अहिलेसम्मकै सबैभन्दा धेरै मेहनत गरेको फिल्म ‘बलिदान’ भएकाले जीवनभर बगाएको रगतपसिनाको नतिजा चलचित्रमा झल्कने बताउँछन् ।
फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ ।
बलिदान फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका पुराना कलाकारको समेत अभिनय देख्न सकिन्छ ।