टोकियो, जापान ।
नेपाली संगीत क्षेत्रका वरिष्ठ गायक जीवन शर्माको बहुप्रतीक्षित सांगीतिक कार्यक्रम ‘एकल साँझ – Live in Tokyo 2026’ जापानको राजधानी टोकियोमा आयोजना हुने भएको छ । नेपाली मौलिक गीत–संगीतलाई प्रवासमा रहेका नेपालीमाझ पुनः जीवन्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रम २०२६ जुलाई २८ (मंगलबार) टोकियोको मेगुरो कुमिन सेन्टरमा आयोजना हुनेछ । कार्यक्रमको आयोजना न्यु भिजनले गरेको हो ।
जीवन शर्माले नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सामाजिक चेतना, देशप्रेम र जनजीवनका विषयवस्तु समेटिएका गीत मार्फत आफ्नो विशिष्ट पहिचान बनाएका छन् । कार्यक्रममा गायक शर्माले आफ्ना चर्चित तथा लोकप्रिय डेढ दर्जन गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
टोकियो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम विशेष सांगीतिक भेटघाटको अवसर बन्ने आयोजकको विश्वास छ । कार्यक्रममा विभिन्न पुस्ताका दर्शकलाई लक्षित गरी जीवन शर्माका पुराना तथा नयाँ सिर्जनाहरू प्रस्तुत गरिनेछ ।
कार्यक्रममा सहभागी हुन चाहने दर्शकले पोस्टरमा उल्लेख गरिएको क्युआर कोड मार्फत थप जानकारी लिन वा टिकट सम्बन्धी विवरण प्राप्त गर्न सक्नेछन् । थप जानकारीका लागि बसन्त थापा (080-4473-6183) लाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।
नेपाली मौलिक संगीतलाई प्रवासमा पनि जोगाइराख्ने उद्देश्यसहित आयोजना हुन लागेको यो सांगीतिक साँझले जापानस्थित नेपाली समुदायलाई एकै थलोमा जोड्ने अपेक्षा गरिएको छ ।