(Japan) 6 th July | 2026 | Monday | 5:37:18 PM || (Nepal) 2:22:18 PM
 
 

टोकियोमा हुने नेपाल फेस्टिभलको लागि चर्चित गायक अर्जुन सापकोटा र गायिका शान्ता रानी परियार जापान आउँदै

  POSTED ON : Monday, 06 July, 2026 | Views : 174

टोकियोमा हुने नेपाल फेस्टिभलको लागि चर्चित गायक अर्जुन सापकोटा र गायिका शान्ता रानी परियार जापान आउँदै


टोकियो, जापान ।

जापानमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो नेपाली पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सवको रुपमा रहेको १५औँ नेपाल फेस्टिभल २०२६ आगामी जुलाई १८, १९ र २० मा टोकियोको ओदाइबामा भव्य रूपमा आयोजना हुने भएको छ ।

आयोजकले सार्वजनिक गरेको नयाँ पोस्टर तथा जानकारी अनुसार लोकप्रिय गायक अर्जुन सापकोटा र चर्चित लोकदोहोरी गायिका शान्ता रानी परियार आफ्नो विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । प्राप्त जानकारी अनुसार जुलाई १८ मा शान्ता रानी र जुलाई २० मा अर्जुन सापकोटा दर्शकमाझ प्रत्यक्ष प्रस्तुत हुनेछन् । उनीहरूको सहभागिताले यस वर्षको नेपाल फेस्टिभलप्रति नेपाली समुदायमा थप उत्साह बढ्ने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म चल्ने यस महोत्सवमा नेपाली कला, संस्कृति, संगीत, नृत्य, परम्परागत खानाका परिकार, पर्यटन प्रवर्द्धन तथा नेपाल–जापान मित्रतालाई झल्काउने विविध कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रवेश सबैका लागि निःशुल्क रहने आयोजकले जनाएको छ ।

यस वर्षको फेस्टिभलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्ष लाई समेत विशेष रूपमा स्मरण गर्दै जापानमा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ । कार्यक्रममा जापानी नागरिक, विदेशी पाहुना तथा जापानभर रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेपाली कला र संस्कृतिको विशाल उत्सवका रूपमा परिचित नेपाल फेस्टिभलमा चर्चित कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, सांस्कृतिक झाँकी, विभिन्न स्टल तथा मनोरञ्जनात्मक कार्यक्रम मुख्य आकर्षण रहनेछन् ।

जापान समाचार डटकमले नेपाल फेस्टिभल २०२६ सम्बन्धी सम्पूर्ण अपडेट, कार्यक्रम तालिका तथा थप जानकारी निरन्तर प्रकाशित गर्नेछ ।